कुनमिङ – चीनको दक्षिणपश्चिम युनान प्रान्तमा निरन्तरको सुख्खा र अनावृष्टिका कारण सात लाख ३७ हजार हेक्टर खेतीबालीमा नराम्रो असर परेको प्रान्तीय कृषि विभागले जनाएको छ।
विभागका अनुसार करिब दुई लाख ३२ हजार हेक्टरको खेतीमा नोक्सानी पुगेको तथा १३ हजार हेक्टरको बालीनाली पूर्णरुपमा नष्ट भएको छ। यस प्रान्तमा केही महिनादेखि वर्षा नभएको र तापक्रम निकै उच्च भएको छ ।
अति गर्मीका कारण झिसुआङबान्नामा विद्यालयहरु पनि बन्द गरिएको छ। स्थानीय सरकारहरुले बढ्दो तापक्रमलाई ध्यानमा राखेर नागरिकलाई स्वास्थ्य समेतका विषयमा विशेष ध्यान दिन आग्रह गरेका छन्।
सुख्खासँग जुध्न प्रान्तीय सरकारले १ सय ७६ वटा पानी ट्याँकर पठाएको छ। यी ट्याँकरको पानी खेतीबालीका लागि प्रयोग गरिने सरकारले जनाएको छ।
खानेपानीको अभाव समेत झेलिरहेका करिब ३० हजार मानिसका लागि यी ट्याँकरबाट पछिल्लो समय झण्डै पाँच हजार ६ सय ४३ टन पानी वितरण गरिएको छ। (रासस–सिन्ह्वा)