याङ्गुन – म्यान्मारका राष्ट्रपति ऊ वीन मिन्टले सन् २०२० मा हुने संसदको चुनाव निष्पक्ष एवं स्वतन्त्र रुपमा सम्पन्न गर्नेगरी तयारी थाल्न आह्वान गरेका छन्।
निर्वाचन आयोगका पदाधिकारीसँग बुधबार भेट गर्दै राष्ट्रपति मिन्टले मतदाता सूची र निर्वाचन कार्यालयहरुको राम्रोसँग व्यवस्था गर्न तथा सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन र निर्वाचन क्षेत्रहरुको सीमा निर्धारण गर्न आग्रह गरे।
राष्ट्रपति मिन्टले निर्वाचनसँग सम्बन्धित अपराध रोक्न तथा मतगणना उपयुक्त तरिकाबाट गरी निर्वाचन परिणाम घोषणा व्यवस्थित रुपमा गर्ने व्यवस्था मिलाउन आग्रह गरेको निर्वाचन आयोगले जनाएको छ।
आङ सान सूकीको नेतृत्वमा रहेको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले सन् २०१५ मा भएको आमनिर्वाचनमा प्रचण्ड बहुमत ल्याएको थियो। संविधान बमोजिम एनएलडीले सन् २०१६ को अप्रिल १ देखि म्यान्मारको सत्ता सम्हालेको छ। (रासस)