काठमाडौँ–यतिबेला चीनको सामाजिक सञ्जालमा जारी अमेरिका–चीन व्यापार युद्धबारे बनाइएको एक चिनियाँ प्रोपागाण्डा गीतले निकै चर्चा र चासो बटुलिरहेको छ।
पूर्व चिनियाँ कर्मचारीले लेखेको व्यापार युद्ध नामक उक्त गीत चर्चाको शिखरमा छन् । उक्त गीत चीनमा लोकप्रिय मोबाइल मेसेन्जर वीच्याटमा शुक्रवार देखा परेको थियो। त्यस यता त्यसलाई लाखौँ पटक हेरिएको छ र त्यसमा आधारित अर्को एउटा म्युजिक भिडिओ पनि देखा परेकोछ।
निकै कडा शब्दमा अमेरिकाको आलोचना गरिएको उक्त गीतमा अमेरिकालाई पराजित गरेर होसमा ल्याउने वाचा गरिएको छ।
यस्ता प्रोपागाण्डा गीत चीनमा नौलो होइन। क्याराओके चीनमा लोकप्रिय छन्। जसमा बार वा क्लबमा मानिसहरू रेकर्डमा बजाइएको धूनमा चर्चित गीतहरू माइक्रोफोनमार्फत गाएर मनोरञ्जन लिने गर्दछ ।
साथै चिनियाँ सरकारलाई उसका आधिकारिक धारणालाई गीतमार्फत युवामाझ पुर्याउनुको प्रभावकारिता हुने थाहा भएरै पनि यो गीतले चर्चा कमाएको हो ।
पछिल्लो समयमा अमेरिकाले करिब २ सय अर्ब डलरका चिनियाँ सामानमा थप आयात शुल्क लगाइदिएपछि चर्किएको दुई देशबीचको तनावका माझ सो गीतले चीनको शक्ति दर्शाउन र अमेरिका विरोधी भावना भड्काउन मद्दत गरेको छ।
गत साता अवकाशप्राप्त चिनियाँ अधिकारी तथा गीतकार जाओ लियाङसियानले व्यापार युद्ध वा ट्रेड वार नामक गीत वीच्याट को एउटा समूहमा राखिदिएका थिए।
त्यसले निकै मानिसको ध्यान खिच्यो र लगत्तै उक्त गीतलाई म्युजिक भिडिओको स्वरूप दिइएको पोस्ट भाइरल अर्थात निकै चर्चित भयो।
सो भिडिओमा आगोको लप्काको पृष्ठभूमिमा एक बलियो मुठीको एनीमेटेड रेखाचित्र देखिन्छ। सो तीन मिनेटको भिडिओमा बेला बेला बेइजीङका मनोरम दृश्य पनि देखाइन्छ।
उक्त गीतलाई विगतमा युद्धको बेला बनाइएको जापानविरोधी प्रोपागाण्डा चलचित्र टनेल वारफेरु को चर्चित धूनमा ढालिएको छ, र कुनै फौजी गीत जस्तो सुनिन्छ।
मैले उक्त टनेल वारफेर नै चुनेँ किनभने अहिले चीनले बेहोरिरहेको अवस्थासँग त्यो मिल्दोजुल्दो छ, जाओले ब्लुमबर्ग न्यूजलाई बताए। यो व्यापार युद्ध सुरु भएदेखि नै मलाई केही गरूँ जस्तो लागेको थियो।
उनले उक्त संगीतमा अहिले दुई देशबीचको गिर्दो सम्बन्धबारे गीत रचे।
त्यसमा व्यापार युद्धका चुनौतीबाट नडराएको र यदि प्रतिद्वन्द्वी लड्न चाहन्छ भने उसलाई पराजित गरि होसमा ल्याइने जस्ता कुरा उल्लेख छन्। (बिबिसी)