काठमाडौँ – भारतमा लोकसभाको सातौं तथा अन्तिम चरणको मतदान भइरहेको छ। भारतमा ११ अप्रिलबाट लोकसभा चुनाव सुरु भएको थियो। आज अन्तिम चरणको चुनाव सकिएपछि २३ मेबाट मतगणना सुरु गर्ने तयारी छ।
साँझ ६ बजेसम्म मतदान हुने र त्यसपछि मत सर्वेक्षणका नतिजाहरु सार्वजनिक हुने छन्। आइतबार ८ राज्यमा ५९ सिटका लागि मतदान भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। ५९ सिटका लागि ९१८ उम्मेदवार चुनावी मैदानमा छन्। मतदाताको संख्या भने १०.१७ करोड छ ।
आइतबार पन्जाबका १३, पश्चिम बंगालका ९, बिहार र मध्यप्रदेशका ८–८ तथा हिमाचल प्रदेश र झारखण्डका ४–४ सिटमा मतदान भइरहेको छ। यसैगरी चण्डीगढमा एक सिटका लागि मतदान भइरहेको छ। सत्तारुढ भाजपाले सन् २०१४ मा भएको चुनावमा यी ५९ सिटमध्ये ३० मा जित हासिल गरेको थियो।
वाराणसीमा पनि आज मतदान भइरहेको छ। जहाँबाट नरेन्द्र मोदी उम्मेदवार बनेका छन्। यसैगरी बिहारको पटना साहिब लोकसभामा भाजपाका बागी उम्मेदवार शत्रुघ्न सिन्हा कांग्रेसको समर्थनबाट चुनाव लडेका छन्। उनको प्रतिस्पर्धी भाजपा उम्मेदवार एवम् केन्द्रीय मन्त्री रविशंकर प्रसाद छन्। त्यसैले यी क्षेत्रमा मतदाताको मुख्य चासो छ ।