एजेन्सी - अफगानिस्तानको सरकारी सेनाले तालिवानी नियन्त्रणमा रहेका दश नागरिकलाई मुक्त गराएको छ।
सरकारी सुरक्षाकर्मीहरूले चलाएको खोजी तथा कारबाही अभियानका क्रममा देशको उत्तरी कुन्दुज प्रान्तबाट उनीहरूलाई नियन्त्रण मुक्त गरेका हुन्।
अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार शुक्रबार चाहार डारा जिल्लाको एक्यु सराय गाउँमा सुरक्षा कारबाही अभियान चलाइएको थियो।
उनीहरुले त्यस ठाउँमा एउटा घरलाई कारगारकोरूपमा सञ्चालन गरेको र नियन्त्रणमा लिइएकाहरूलाई त्यही राख्ने गरेको एक जना सैन्य प्रवक्ताले जानकारी दिएका छन्।
त्यही तालिबानी कारागारबाट मुक्त गरिएकाहरूलाई अहिले सरकारी सेनाले आफ्नो शिविरमा राखेको र केही दिनपछि मात्रै आफन्तको जिम्मा लगाइने भएको छ।
उनीहरूलाई खोज्ने र मुक्त गरेर ल्याउने क्रममा सेनाले कुनै पनि हातहतियारहरु प्रयोग नगरेको श्रोतले जनाएको छ। अफगानिस्तानका विभिन्न ठाउँमा सरकारी सेना र तालिबान लडाकूहरुबीच भेला बेलामा भिडन्त र एक अर्का विरुद्धका कारबाहीहरू हुने गरेका छन्। यस क्रममा हजारौँको मृत्यु भइसकेको छ।