काठमाडौँ - इन्डियन प्रिमियर लिग (आईपीएल) को १२औँ सिजनमा पहिलो पटक प्लेअफमा स्थान बनाउन सफल दिल्ली क्यापिटल्सले बुधबार एलिमिनेटरमा सनराइजर्स हैदराबादको सामना गर्दैछ।
समूह चरणका खेलको समाप्तिसँगै तालिकाको तेस्रो र चौथो स्थानमा रहेर प्लेअफमा स्थान बनाएका यी दुईबीचको आजको खेलको विजेता सिधै फाइनलमा पुग्ने छैनन्। आजको विजेताले मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्ससँग पराजित चेन्नईको सामना गर्नुपर्नेछ।
शानदार प्रदर्शनबाट दिल्लीको हौसला बुलन्द
यो सिजन नाम र जर्सी परिवर्तन गरेको दिल्लीले प्रदर्शनमा पनि सकरात्मक परिवर्तन गर्यो। यसअघिको आफ्नो कमजोर ख्यातिलाई कायापलट गरेको दिल्ली ऐतिहासिक फाइनलबाट २ कदम मात्र टाढा छ। पहिलो चरणको चुनौतीको रुपमा रहेको छ हैदरावाद। पछिल्लो समय एकपछि अर्को उत्कृष्ट खेल प्रस्तुत गरेर उपाधिमाथि धावा बोलिरहेको छ, हैदारबाद। सोही क्लवविरुद्ध प्लेअफमा अनुभव नभएका खेलाडी रहेको दिल्लीले जितका लागि धेरै संघर्ष गर्नुपर्ने निश्चित देखिन्छ।
रवाडाको अनुपस्थितिमा दिल्लीको परीक्षा
पछिल्ला ५ मध्ये ४ खेलमा जित हासिल गरेको दिल्लीका लागि मुख्य हतियार थिए, दक्षिण अफ्रिकी बलर कागिसो रवाडा। अन्तिम खेलमा रवाडा बिना मैदानमा उत्रिएको दिल्लीको जितपछि बलिङ प्रशिक्षक रिकी पोन्टिङले ट्रेन्ट बोल्टमा रवाडाको स्थान लिने खुवी रहेको बताएका थिए। आजको खेलमा दिल्लीका साथै बोल्टको पनि परीक्षा हुनेछ।
सामाजिक सञ्जालमा छाए सन्दीप
आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी बन्न सन्दीपलाई मौका दिएको दिल्लीले लाखौँ नेपाली क्रिकेट समर्थकको मनका स्थान बनाएको छ। दिल्ली र नेपाली क्रिकेट समर्थकबीचको सम्बन्धको माध्यम बनेका राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेको यति बेला ब्यापक चर्चा भइरहेको छ।
दिल्लीको खेल आउने बित्तिकै शुरु भएको सन्दीपको चर्चा खेलको २ दिनसम्म सेलाउँदैन। त्यसैगरी आजको खेलको पूर्वाद्धमा पनि उनको चर्चाले शिखर चुमेको छ। क्रिस मोरिस र रवाडा दुवै बलर यसअघि नै स्वदेश फर्किसकेका छन्। तर दुवै खेलाडी फास्ट बलर भएका कारण आजको खेलमा सन्दीपले मौका नपाउने सम्भावना बढी देखिन्छ। दुई फास्ट बलर इशान्त शर्मा र ट्रेन्ट बोल्टसँग स्पिनर अक्षर पटेल र अमित मिश्रालाई मैदानमा उतार्ने सम्भावना रहेको छ।
त्यस्तै किमो पौलको पनि सम्भावना देखिन्छ। यसअघि दिल्लीमा भएको हैदराबादविरुद्धको खेलमा सन्दीपले ३२ रन खर्चेर १ विकेट लिएका थिए। त्यस्तै हैदराबादमा भएको दोस्रो खेलमा उनी प्लेइङ सेटमा परेका थिएनन्। जसका कारण पनि आजको खेलमा उनको सम्भावना न्यून देखिन्छ।
हैदराबादविरुद्धका खेलका लागि दिल्लीको अनुमानित प्लेइङ सेट:
शिखर धवन, पृथ्वी शह, श्रेयस एयर (कप्तान), ऋषभ पन्त, कोलिन इन्ग्रम, शेर्फन रदरफोर्ड, किमो पौल, अक्षर पटेल, अमित मिश्रा, इशान्त शर्मा, ट्रेन्ट बोल्ट।