काठमाडौंँ - यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा लिभरपुल र बार्सिलोनाको भेट निश्चित थियो। पहिलो लेगको खेल बार्सिलोनाको मैदान क्याम्प नउमा हुने भयो। र दोस्रो लेग लिभरपुलको मैदानमा। घरेलु मैदानमा भएका च्याम्पियन्स लिगका ३० खेलमा अपराजित रहेको बार्सिलोना दोस्रो लेग आफ्नो मैदानमा खेल्न चाहन्थ्यो।
नक आउट चरणको पहिलो लेगमा भोगेको पराजयलाई घरेलु मैदानमा उल्ट्याएर अगाडि बढ्नमा माहिर स्पेनिस ह्याभिवेटसामु यो सिजनको सेमिफाइनलमा फरक चुनौती आइलाग्यो। चुनौती थियो पहिलो लेगमा उत्कृष्ट नतिजा निकालेर दोस्रो लेगमा त्यसको बचाउ गर्ने।
सोहीअनुसारको पहिलो लेगमा प्रदर्शन पनि गर्यो। कप्तान लियोनल मेसीको २ गोल र स्वारेजको ओपनिङ गोलको मद्दतमा लिभरपुलविरुद्ध ३-० गोलको अग्रता लियो। पहिलो चरणको परीक्षामा पास भएको बार्सिलोनाका असली ट्रायल थियो, लिभरपुलको मैदान एन्फिल्डमा हुने दोस्रो लेग।
सबैको चासोको विषय थियो, यस्तै नतिजाहरुलाई उल्ट्याउन सफल बार्सा त्यसको बचाउ पनि गर्न सक्छ? खेलप्रेमीको चासो, बार्सा समर्थकको हौसला, लिभरपुल समर्थकको आशा, बार्सालाई बचाउने चटारो अनि लिभरपुललाई नतिजा उल्ट्याउने भोक। यस्तै अनेकन कुराकाबीच आयो अप्रिल ८, अनि लिभरपुल भर्सेस बार्सिलोना।
विश्वकै सर्वाधिक लोकप्रिय क्लब फुटबल प्रतियोगिताको पनि सेमिफाइनल। सेमिफाइलनको पनि दोस्रो लेग। अनि यसअघि ५-५ पटकका विजेता लिभरपुल र बार्सा आमनेसामने।
नेपाली समयअनुसार राति १२ः४५, अनि शुरु भयो लिभरपुलका प्रशिक्षक यर्गेन क्लपका लागि बहुप्रतिक्षित घडी। टर्किस म्याच रेफ्रि क्युनेट काकिरले विसल बजाएसँगै फाइनल यात्राका लागि अत्यन्तै कम्ति समय ९० मिनेटको समय शुरु भयो।
पहिलो मिनेटमै बार्सिलोनाका कप्तान लियोनल मेसीले गोलका आफ्नो उपस्थिति दर्शाए। दोस्रो मिनेटमा लिभरपुलले कर्नर पायो। प्रतिस्पर्धात्मक अनि अत्यन्त रोचक खेल। लिभरपुल आक्रामक देखिन्थ्यो अनि बार्सिलोना रक्षात्मक।
पहिलो ५ मिनेटमा ७७ प्रतिशत बल पोसेसन आफ्नो कब्जामा राखेको लिभरपुलले सातौँ मिनेटमा डिभोक ओरिगीको गोलमार्फत बार्साको ढुकढुकी छाम्यो। फाइनल यात्राका लागि कम्तिमा क्लिन ४-० गोलअन्तरको जित आवश्यक रहेको लिभरपुलले खाता खोल्यो। मिसन बनाएर मैदानमा उत्रिएको प्रत्यक्ष दर्शाउने प्रदर्शन गरेका कप्तान जोर्डन हेन्डरसनको प्रहार बार्साका गोल किपर स्टेगनले रोकेर फर्किएको बललाई डिभोक ओरिगीले जाली चुमाए।
लिभरपुलले फ्रन्टलाइनका २ स्टार खेलाडीहरु रोबर्टो फिर्मिनो र मोहम्मद सलाहलाई चोटका कारण गुमाएको थियो। २ महत्वपूर्ण खेलाडीको अनुपस्थिति प्रतिस्थापित खेलाडीका लागि अवसर र चुनौती दुवै थियो। त्यसैमध्येका एक थिए, ओरिगी पनि।
पहिलो हाफको खेल सकियो। बार्साले पनि मौका सिर्जना गर्न नसकेको होइन तर आक्रामक लिभरपुलसामु फितलो साबित भयो, बार्सिलोना। पहिलो हाफमा १ गोलको अग्रता लिएको लिभरपुलका लागि अझै ३ गोलको आवश्यकता थियो।
दोस्रो हाफको शुरुआतसँगै गोलको आवश्यकता भएकाले क्लोपले डिफेन्डर रोबर्टसनको स्थानमा डच मिडफिल्डर जर्जिनियो वाइनाल्डमलाई प्रतिस्थापन गरे। लिभरपुल थप आक्रमक बन्यो। दोस्रो हाफको नवौँ अर्थात् खेलको ५४औँ मिनेटमा लिभरपुल बार्साको गोलपोष्टतर्फ दौडियो। केही खेलाडी बार्साको डि-बक्समा घुसिसकेका थिए।
यत्तिकैमा इंग्लिस इन्टरनेसनल ट्रेन्ट अलेक्जेण्डर आर्नोल्डको डिफ्लेक्टेड क्रस डि-बक्समा भित्रियो। सोही क्रसलाई परिवर्तित खेलाडी वाइनाल्डमले हेडरमार्फत गोल पोष्टको दिशा देखाए।
दोस्रो गोलसँगै लिभरपुलको हौसला बुलन्द बन्यो। दर्शक तात्तिए। अब जितका लागि २ र खेललाई अतिरिक्त समयसम्म धकेल्नका लागि लिभरपुललाई मात्र १ गोलको खाँचो थियो। बार्सिलोनाको हतास् खेलाडीको हाउभाउबाट प्रष्ट देखिन थाल्यो।
त्यसको २ मिनेटपश्चात के भयो, त्यो अकल्पनीय थियो। उही पहिलो लेगमा लिभरपुलमाथि गरेकै गोलको संख्या अब बार्सिलोनाको गोलपोष्टमा पनि भयो। सकिरीको खुट्टाबाट पास बनेर आएको सुन्दर पासलाई गोलमा परिणत गर्दै उही खेलाडी वाइनाल्डमले व्यक्तिगत दोस्रो र टीमका लागि तेस्रो गोल गरे।
मैदानमा जे देखियो र जस्तो माहोल बन्यो त्यो अकल्पनीय नै थियो। सोही नतिजा ९० मिनेटसम्म रहे खेल लम्बिने निश्चित भयो। तर लिभरपुल लगातार दोस्रो सिजन फाइनलमा पुग्नका लागि आतुर थियो भन्ने त्यसपछिको प्रदर्शनीले सिद्ध गर्यो। ७९औँ मिनेट, निर्धारित समयको खेल सकिन ११ मिनेट बाँकी थियो।
https://twitter.com/harwichHowe/status/1126006015718301696
लिभरपुलले कर्नर पायो। शुरुमा आर्नोल्डले प्रहार गर्न लागेका थिए, तर सकिरी प्रहार गर्नका लागि आउँदै थिए। कर्नर छाडेर २ पाइला अघि बढेका आर्नोल्डले फर्किएर कर्नर प्रहार गरे। बार्साका सबै खेलाडी पोजिसनभन्दा बाहिर थिए। ओरिगीले सो क्रसलाई सोझै जाली चुमाउँदै लिभरपुलको फाइनल यात्राको टिकट काटे।
बार्साका प्रशिक्षक भल्भार्देको पनि केही लागेन। फ्रि-किक त पाएका थिए मेसीले चमत्कार भएन बार्साको पक्षमा। फाइनल खेलहुने स्पेनकै मेट्रोपोलिटानोको टिकट बाटैमा खोसियो। पहिलो लेगमा ३ गोल एडभान्स छाडेर बुकिङ गरेको टिकट मर्सेसाइड ट्रान्जिटमै लिभरपुलले ४ गोलको डाउन पेमेन्टमार्फत लिलामी गर्यो।
यसअघि क्वार्टरफाइनलबाटै बाहिरिएको बार्सिलोनाको यसपटक ट्रेबल जित्ने सपनामाथि ठूलो तुसारापात भयो। तर लगातार दोस्रो पटक लिभरपुल फाइनलमा पुग्यो। बुधबार राति हुने आयाक्स र टोटनह्यामको खेलको विजेताले जुन २ तारिखमा लिभरपुलको सामना गर्नेछ।