काठमाडौँ – विश्व र्याफ्टिङ च्याम्पियनसिपमा सहभागी हुन सात खेलाडीसहित आठ सदस्यीय नेपाली टोली आज अष्ट्रेलियाको क्विन्सल्याण्ड प्रस्थान गरेको छ।
यही वैशाख ३० देखि हुने प्रतियोगितामा शक्तिकुमार गुरुङ, पदमबहादुर गुरुङ, दिपेश गुरुङ, सविन गुरुङ, सुनील गुरुङ र रबिल मियाँले पुरुष खुला टिम स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्। प्रशिक्षकमा सुरज गुरुङ रहेका छन्।
नेपाली टोलीले २ सय ५० मिटरको स्प्रिन्ट, ३ सय ५० मिटरको हेड टु हेड, ४ सय ५० मिटरको स्लालम र २१–२५ मिटरको डाउन रिभर रेसमा प्रतिस्पर्धा गर्नेछ। नेपालले जेठ २ गते स्प्रिन्ट, ३ गते हेड टु हेड, ४ गते स्लालम र ५ गते डाउन रिभर रेसमा सहभागिता जनाउनेछ।
नेपालले विश्व च्याम्पियनसिपमा दोस्रोपटक सहभागिता जनाउन लागेको हो। यसअघि २०१७ मा जापानमा भएको विश्व च्याम्पियनसिपमा नेपालले पहिलोपटक सहभागिता जनाएको थियो। त्यतिबेला खेलेका कुनै पनि खेलाडी अहिलेको टिममा छैनन्।
टोलीलाई सफलताको शुभकामना दिँदै युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले सोमबार एक कार्यक्रमबीच बिदाइ गरेका थिए। प्रतियोगितामा २९ राष्ट्रको सहभागिता रहने बताइएको छ। (रासस)