साँघु - ताप्लेजुङको साँघुमा जारी तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विभागीय टोलीले वियजी शुरुआत गरेका छन्। मैवाखोला गाउँपालिकाको केन्द्रको रुपमा रहेको साँघुस्थित नारायणी उच्च माविको खेल मैदानमा सोमबारबाट शुरू भएको प्रतियोगिताको पहिलो खेलमा साविक विजेता नेपाल पुलिस क्लबले प्रदेश नम्बर –१ लाई पराजित गरेको छ।
पाँच जना राष्ट्रिय टीमका खेलाडी समावेश भएको पुलिस मैदानमा उत्रिँदा १ नम्बर प्रदेश २५–८, २५–१८ र २५–९ को सोझो सेटमा समेटियो। सोमबार नै भएका अन्य खेलहरुमा प्रदेश नम्बर –३ विरुद्ध एपीएफ क्लब विजयी हुँदा नेपाल आर्मीले त्रिभुवन विश्वविद्यालयको टोलीलाई स्तब्ध पार्यो। एपीएफले प्रदेश नम्बर –३ लाई २५–१६,२५–१५,२६–२४ तथा आर्मीले २५–१३,२५–१३ र २५–१५ को सोझो सेटमा विश्वविद्यालयलाई पराजित गरेको हो।
सोमबार नै सम्पन्न खेलमा प्रदेश –२ लाई पराजित गर्दै गण्डकी प्रदेशले पनि क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। गण्डकीले प्रदेश २ लाई ३–० को सोझो सेटमा समेटेको हो। सुःखद शुरुआत गर्ने क्षेत्रीय टोली गण्डकी प्रदेश मात्र हो। गण्डकीले प्रदेश न –२ लाई २५–१६,२५–१५ र २५–१६ को सेटमा हरायो पराजित गरेको हो।
‘पर्यटन प्रवर्द्धनका लागि भलिबल’ नारासहित जारि प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। विजेताले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त र उपविजेताले १ लाख ७६ हजार २ सय ५१ नगद पुरस्कार प्राप्त गर्नेछन्। सेमिफाइनलमा पराजित दुई टोलीले नगद ५०–५० हजार पाउने आयोजकले जनाएको छ।
आयोजक जलजले युवा क्लवका अध्यक्ष दिवस चोङवाङका अनुसार प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई १५ हजार प्रदान गरिनेछ। व्यक्तिगत विधामा उत्कृष्ट हुने सर्भर, डिफेन्डर, ब्लकर, क्विकर, स्पाइकर र प्रशिक्षकले समान ७–७ हजार प्राप्त गर्नेछन्। हरेक खेलको ‘म्यान अफ द म्याच’लाई २ हजार प्रदान गरिने आयोजकले जनाएको छ। फाइनल खेल वैशाख २६ गते हुने छ।