काठमाडौँ - मलेसियामा सम्पन्न ‘१६औँ ओकिनवा गोजु-रियो खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता-२०१९’ मा पदक विजेता खेलाडी एवम् अफिसियल्सको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ। मे ३ तारिखदेखि ६ तारिखसम्म भएको १६औँ संस्करणको उक्त प्रतियोगितामा नेपाली खेलाडीहरुले ३ स्वर्ण र १ कास्य जितेका थिए।
यस क्रममा ४० वर्षभन्दा माथि उमेर समूहमा विनोदमान श्रेष्ठ, ३० वर्षमाथि उमेर समूहमा विवस घिमिरे र ३० वर्षमुनि उमेर समूहमा नै कुमार चौलागाईले स्वर्ण हात पारेका थिए।
३ खेलाडी सहभागी भएको उक्त प्रतियोगिता तीनै जनाले स्वर्ण र १ खेलाडीले स्वर्णसहित कास्य जित्दै महत्वपूर्ण उपलब्धि हासिल गरेका खेलाडीहरु विनोदमान श्रेष्ठ, विवस घिमिरे, कुमार चौलागाई र प्रशिक्षक रञ्जनमान श्रेष्ठ तथा टीम मेनेजर जितेन्द्र पसाद साहलाई सोमबार स्वदेश फर्किने क्रममा विमानस्थलमा भव्य स्वागत गरिएको हो।
सो अवसरमा ओकिनवा गोजु-रियो कराते संघका केन्द्रीय सचिव पुरन गिरीले सबै खेलाडीले स्वर्ण पदक जितेर देशको नाम उच्च बनाएको बताए। उनले भने, ‘सीमित स्रोत र साधनको उपयोग गरेर पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा यस्तो उपलब्धि हासिल गर्नु भनेको खेलाडीको मेहनत र प्रशिक्षकको सही मार्ग निर्देशनको नतिजा हो।’ यसले आगामी दिनहरुमा पनि खेलाडीहरुमा उत्कृष्ट प्रदर्शन गर्न हौसला प्रदान गर्ने उनले बताए।
त्यस्तै ३ खेलाडीसहित टीम म्योजरको नेतृत्व गरेर मलेसिया गएका प्रशिक्षक रञ्जनमान श्रेष्ठले आफूहरुले मेहनतअनुसारको फल प्राप्त गरेको बताए। उनले भने, ‘हामी स्वर्णपदक जित्नेमा पहिल्यै विश्वस्त थियौँ, किनकी हामी आफ्नो मेहनत र लगनशीलतामा विश्वास गर्छौँ।’
व्यक्तिगत तथा संघमार्फत आफ्नै खर्चमा प्रतियोगितामा सहभागी भएर देशको नाममा पदक जितेकोमा खुशी व्यक्त गरे। उनले भने, ‘राज्यले फुटिकौडी सहयोग गरेको छैन, हामी आफैँले स्रोत जिताएर विश्वमा नेपालको नाम पुर्याउन सफल भयौँ यसमा हामी खुशी छौँ।’ सरकारको सहयोग बिना नै यस्तो उपलब्धि हासिल गरेर आफूहरुले सरकारलाई चुनौती दिएको प्रशिक्षक श्रेष्ठले बताए। प्रशिक्षक श्रेष्ठले नेपाल भ्रमण वर्ष-२०२० लाई ध्यानमा राख्दै ‘१७औँ ओकिनवा गोजु-रियो खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता–२०२०’ नेपालमा गर्नका लागि आफूहरुले उद्घोष गरेको जानकारी दिए।
त्यसमा त्यहाँ उपस्थित सम्पूर्ण देशका प्रतिनिधिहरुले सहभागी हुने वाचा गरेको श्रेष्ठले बताए। मलेसियाको इन्द्र मुलिया-इपो पेराक स्टेडियममा सम्पन्न प्रतियोगिताका अवसरमा नेपाली खेलाडी एवं अफिसिलयको टोलीले नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसारसमेत गरे।
पदक विजेता खेलाडीहरुलाई विमानस्थलमा स्वागत गरेर हौसला बढाउन संघका पदाधिकारीहरु, समाजसेवी, खेलप्रेमी, राजनीतिज्ञ तथा परिवारजनसमेत भेला भएका थिए। खेलाडी एवम् प्रशिक्षकसहितको टोली विमानस्थलमा आइपुग्ने बित्तिकै ओकिनवा गोजु-रियोका सचिव पुरन गिरी उपाध्यक्ष राजेशमान श्रेष्ठ, काठमाडौँ क्षेत्र नम्बर १ बाट प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठ, समाजसेवी रमेशसिंह डंगोल, सुवर्ण वैद्य, विनोद शाही, जलतराज वैद्य, निर्मल कुइँकेल, केदारमान राज भण्डारीले टिका लगाएर स्वागत गरेका थिए।
त्यस्तै, नेपालकी पहिलो महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ, महिला नेतृ मीनु मानन्धर तथा खेलप्रेमि राजन राजभण्डारी राजेश राना, पवन जंग ठकुरी, ओकिनावा गाेजुरियाे कराते संघका केन्द्रीय सदस्य कविन्द्र बस्याल र खेलाडीका परिवारजनले खादा ओडाएर स्वागत गरे। बधाई ज्ञापन तथा स्वागतका अवसरमा रातो कुमारी सेवा समितिका अध्यक्ष प्रकाश तण्डुकारले पनि बधाई दिए।
