काठमाडौँ - राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपालय इन्टरनेसनलको व्यवस्थापनमा तेश्रो प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता जेठमा पहिलो साता हुने भएको छ।
प्रतियोगिता जेठ १ देखि २४ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।
प्रतियोगितामा हरेक दिन १ खेल हुनेछ। प्रतियोगितामा ३ विभागीय र ७ प्रदेश गरी १० टिमको सहभागिता रहने आयोजकले बताएको छ। १० टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ। समूहका शीर्ष २ टिमले सेमिफाइनलमा स्थान बनाउनेछन्।
प्रतियोगिताको कुल बजेट १ करोड ७५ लाख रुपैयाँ रहेको राखेपले बताएको छ। त्यसमा परिषद्ले ८० लाख रुपैयाँ उपलब्ध गराउनेछ भने बाँकी रकम नेपालय इन्टरनेसनलले जुटाउनेछ।
प्रतियोगिताको पुरस्कारका लागि मात्र करिब ५० लाख रुपैयाँ खर्च हुनेछ। विजेताले २० लाख पाउने छ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ। त्यस्तै प्रतियोगिताकै उत्कृष्ट खेलाडीले एक मोटरसाइकल प्राप्त गर्ने छ भने उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले समान ५०-५० हजार रुपैयाँ पुरस्कार पाउने छन्।
यसैगरी खेल हेर्न पुग्ने दर्शकलाई ‘सिंगल ह्यान्डेड’ क्याच लिएमा ५० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिता सञ्चालन गर्ने सम्बन्धमा नेपालय इन्टरनेसनल र राखेपबीच पत्रकार सम्मेलन मै सम्झौता पत्रमा हस्ताक्षर समेत भएको छ।
समम्झौता पत्रमा राखेपका सदस्य-सचिव केशबकुमार विष्ट र नेपालय इन्टरनेसनलका तर्फबाट सुवासचन्द्र प्रधानले हस्ताक्षर गरे। सम्झौता यसै प्रतियोगिता आयोजना गर्नका लागि रहेको सदस्यसचिव विष्टले बताए।
सदस्य–सचिव विष्टले ५० ओभरको खेल नभइरहेका बेला यस्तो प्रतियोगिताले नेपाली क्रिकेटको विकासमा योगदान पुग्ने धारणा व्यक्त गर्दै पुरस्कारको रकम र मैदानको खर्च राखेपले व्यहोर्न पनि प्रष्ट पारे।
नेपालय इन्टरनेसनका प्रधानले नेपालले एक दिवसीय मान्यता पाए पनि ५० ओभरको खेल हुन नसकिरहेको अवस्थामा यस्तो प्रतियोगिताले खेलाडीलाई फाइदा पुग्ने बताए। अब नेपालले टेस्ट मान्यता प्राप्त गर्ने तर्फ तयारी गर्नु पर्ने बेला भएकाले नेपालय इन्टरनेश्नलले प्रतियोगिताको शुरुआत गरेको पनि बताए।