एजेन्सी - अफगानिस्तानमा प्राय: अशान्त भई रहने पूर्वी प्रान्त घाज्नी तालिबान लडाकूविरुद्ध सुरक्षा अधिकारीहरुले गरेको कारबाहीको क्रममा कम्तीमा ५२ लडाकू मारिएका छन्। स्थानीय दुई नेतासहित ५२ लडाकू मारिएका रक्षा मन्त्रालयले आइतबार जनाएको छ।
“अहिले सम्मको विवरण अनुसार ५२ भन्दा बढी आतङ्कवादीहरु मारिएका छन्, अफगानी सेनाको तीन ओटा टोलीले गरेको पछिल्ला सुरक्षा कारबाहीमा उनीहरु मारिएका हुन्,” मन्त्रालयद्धारा जारी वक्तव्यमा उल्लेख छ।
सेनाले शनिबार बिहानैदेखि स्थलगत तथा हवाई कारबाही गरेको उच्च सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन्। मारिने स्थानीय दुई नेतामा अबु खालिद र क्युमान्दान सार्हादी रहेको पनि मन्त्रालयद्धारा जारी वक्तव्यमा जनाइएको छ।
अफगानिस्तानको राजधानी काबुलदेखि १२५ किलोमिटर टाढा पर्ने त्यस क्षेत्रमा सरकारी सुरक्षाकर्मी र विद्रोही लडाकूहरुका बीचमा लामो समयदेखि लडाई चल्दै आएको छ।