काठमाडौँ - बुधबार राति एईएफए च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले लिभरपुललाई ३-० गोलअन्तरले पराजित गर्यो। घरेलु मैदानमा भएका पछिल्ला ३१ खेलमा अपराजित बार्सिलोनाले ३-० गोलको नतिजा निकाल्नु अनपेक्षित पटक्कै होइन।
तर प्रिमियर लिगको उपाधि होडमा रहेको र राम्रो लयमा रहेको लिभरपुलका लागि यस्तो पराजय बेहोर्नु लज्जास्पद कुरा हो। उत्कृष्ट फर्ममा रहेको बार्सिलोनाको जित अपेक्षित थियो। तर आक्रामक फ्रन्टलाइन रहेको लिभरपुलले बार्सिलोनाको फर्ममा पुर्णविराम लगाउने सार्मथ्य राख्थ्यो।
डच रेफ्रि बियोर्न कुइपर्सले विसल बजाएसँगै खेल शुरु भयो। शुरुआती समयमा लिभरपुलका प्रशिक्षक यर्गेन क्लोपले बार्साविरुद्धको खेलका लागि राम्रो तयारी गरेको आंकलन गर्न सकिन्थ्यो। शुरुआती १० मिनेटसम्म बार्साको डिफेन्सलाइनलाई व्यस्त राखेको लिभरपुल २२ मिनेटसम्म पनि योजनमा अडिग देखिन्थो। आक्रामक फ्रन्टलाइन र सन्तुलित मिडफिल्डले आफ्नो प्रभाव देखाइ रहेको थियो। घरेलु मैदानमा हाबी हुने बार्सिलोनाले रक्षात्मक खेलको रणनीति बनाइसकेको थियो।
दुवैतर्फबाट गोल हुन सकेको थिएन। तुलनात्मक रुपमा लिभरपुलले बढी आक्रमण गरिरहेको थियो। यत्तिकैमा बार्सिलोनाका इभान राकिटिचले गरेको ट्याक्कलले लिभरपुलका नेबी केइटाको संवेदनशील अंगमा चोट पुग्यो। लिभरपुलको टोलीमा महत्वपूर्ण खेलाडी रहेका उनले सोही चोटका कारण मैदान छाडे। पहिलो रोजाइमा नपरेका कप्तान जोर्डन हेन्डरसनले उनको स्थान लिए।
दुई खेलाडीको खेलशैली पूर्ण रुपमा फरक। त्यसैले लिभरपुलको २२ मिनेट सम्ममको सन्तुलित प्रदर्शनमा ह्रास आयो। फलस्वरुप लिभरपुलले आफ्नै पूर्व स्ट्राइकर स्वारेजको खुट्टाबाट गोल खायो। खेलमा फर्किन पूर्ण रुपमा प्रयासरत लिभरपुलले केही मौका बनाए पनि गोल गर्न सकेन। पहिलो हाफमा बार्सा १ गोलले अगाडि रह्यो।
दोस्रो हाफको शुरुआतदेखि नै प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलमा दुवै तर्फबाट गोलका लागि प्रयास भइरहेकै थिए। तर खेलको ७५औँ मिनेटमा काउन्टर अट्याकमार्फत गोल गर्दै अग्रता दोब्बर पार्याे। स्वोरजले गरेको प्रहार गोलपोष्ट लागेर फर्केको बललाई मेसीले जाली चुमाए।
सम्हालिइ रहेको लिभरपुलको लगातर दोस्रो वर्ष फाइनल पुग्ने सपना १ स्टेप पर धकेलियो। अब जितका लागि लिभरपुललाई कम्तिमा २ गोल आवश्यक थियो। तर त्यसको ७ मिनेटपछि लिभरपुलका फ्याबिन्होले स्वारेजमाथि फौल गरेपछि बार्साले फ्रि–किक पायो। सोही मौकाको सदुपयोग गर्दै कप्तान लियोनल मेसीले आकर्षक गोल गरे। लगभग ३० यार्ड परबाट गरेको उनको प्रहारले सिधै जाली चुम्यो। प्रतियोगिताका लिडिङ गोल स्कोरर मेसीले १२औँ गोल गरेका हुन्।
पहिलो लेगमा ३-० को फराकिलो पराजय बेहोरेको लिभरपुलले मे ८ मा हुने दोस्रो लेगको खेलमा घरेलु मैदानमा बार्साको सामना गर्नेछ। पहिलो लेगमा बुधबार राति बेहोरेको हारलाई उल्ट्याउन कम्तिमा ४-० गोलको अग्रता आवश्यक पर्नेछ। ३-० गोल गर्न सके खेल अतिरिक्त समयमा जानेछ। तर ४-१ गोल भयो भने पनि अवे गोलको आधारमा बार्सा नै फाइनलमा पुग्ने छ। आक्रमक फ्रन्टलाइन भएको लिभरपुलसँग नतिजा उल्ट्याउने क्षमताा पनि छ।