काठमाडौं – भारतमा जारी आइपिएलअन्तर्गतको बुधबारको खेलमा दिल्ली क्यापिटल्सले लज्जास्पद हार व्यहोरेको छ। चेन्नई सुपर किङ्ग्सको घरेलु मैदानमा दिल्ली ८० रनको फराकिलो अन्तरले पराजित भएको हो। चेन्नईले पहिले व्याटिङ गर्दै दिएको १ सय ८० रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीको पुरै टिम ९९ रनमै समेटियो।
यसक्रममा चेन्नईका बलर इमरान ताहिर (३ ओभर २ बल, १२ रन ४ विकेट) र रविन्द्र जडेजा (३ ओभर ९ रन ३ विकेट) को आक्रामक बलिङ गरे। हरभजन सिंह र दिपक चहारले समान १–१ विकेट लिए। दिल्लीका कप्तान श्रेयस ऐयर (३१ बलमा ४४ रन) र शिखर धवन (१३ बलमा १९ रन) बाहेक अन्य व्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
यसअघि चेन्नईले कप्तान महेन्द्र सिंह धोनी (२२ बलमा अविजित ४४ रन), उपकप्तान सुरेश रैना (३७ बलमा ५९ रन), फाफ डु प्लेसिस (४१ बलमा ३९ रन) र रविन्द्र जडेजा (१० बलमा २५ रन) रनको मदतमा ४ विकेट गुमाउदै १ सय ७९ रन बनाएको थियो। दिल्लीका लागि जे. सुचिथले २, क्रिस मोरिस र अक्षर पटेलले समान १–१ विकेट हात पारे। दुबै टिम प्लेअफमा पुगिसकेकाले दिल्लीको यो हारले खासै असर पर्नेछैन्।
चेन्नई बिरुद्दको खेलमा सन्दिपलाई अन्तिम समयमा अन्तिम ११ बाट निकालाइएको थियो। खेलअघिको पत्रकार सम्मेलनमा सन्दिप अन्तिम ११ मा रहने बताइएपनि टसपछि घोषित टिममा सन्दिपको स्थानमा क्रिस मोरिसलाई स्थान दिइएको थियो। सन्दिपको स्थानमा टिममा परेका मोरीसले आजको खेलमा खराब बलिङ गरे। ४ ओभर बलिङ गर्ने क्रममा उनले ८ चौका र एक छक्कासहित ४७ रन दिए।