नयाँदिल्ली – भारतको हरियाणा राज्यको पानीपतमा रेलमार्गमा उभिएर सेल्फी लिँदै गरेका तीन जना किशोरलाई रेलले कुल्चिएको छ। मृत्यु भएकामध्ये दुई जना १९ वर्षका र एक जना १८ वर्षका थिए।
प्रहरीका अनुसार चौथो युवकको भने ज्यान जोगिएको छ। भारतमा पछिल्लो समय रेलमार्गमा सेल्फी लिनेक्रममा धेरैको ज्यान जाने गरेको अनुसन्धानहरुले देखाएका छन्। प्रत्यक्षदर्शी एम एस डबासले चारै जना किशोर रेलमार्गमा उभिएर मोबाइलबाट सेल्फी लिँदै गरेको र त्यहीबेला रेलले उनीहरुमध्ये तीन जनालाई कुल्चिएको जानकारी दिए। ती युवा एउटा बैबाहिक कार्यक्रममा सहभागी हुन पानीपत आइपुगेका थिए ।
गत वर्ष अखिल भारतीय आयुर्विज्ञान संस्थानले गरेको एक अध्ययनमा सन् २०११ देखि २०१७ को बीचमा सेल्फी लिनेक्रममा विश्वभर करिब २५९ जनाको ज्यान गएको उल्लेख छ। तर सेल्फी लिनेक्रममा सबैभन्दा बढीको मृत्यु भारतमा हुने गरेको छ। (रासस)