बाजुरा – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहका बाजुरा जिल्ला इञ्चार्ज भुपेन्द्र विकसहित १० जना पक्राउ परेका छन्। विकलाई बूढीगङ्गा नगरपालिकाको अम्कोटबाट प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी उद्धवसिंह भाट नेतृत्वको टोलीले सो समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो। प्रक्राउ पर्नेमा बाजुरा जिल्ला इञ्चार्ज भुपेन्द्र विक.,सचिव भरत थापा, महिला सङ्घ क्रान्तिकारीका केन्द्रीय सदस्य पवित्रा विक र जिल्ला कमिटी सदस्य अङ्गराज भण्डारी रहेका छन्।
विद्यार्थी कमिटीका गोरख रोकाया, समीक्षा विक सुशीला विक, सुस्मिता विक, केशातार विक र प्रेम थापा रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले प्रक्राउ गरेसँगै उनीहरुबाट विभिन्न विष्फोटक पदार्थसमेत जफत गरेको छ। चन्दा सङ्कलन गरेका रसिदसमेत फेला परेका छन्। प्रक्राउ परेकालाई मुद्दा चलाउने प्रहरीले जनाएको छ।