काठमाडौँ - ला लिगा जित्ने कुनै नौला खेलाडी होइनन्, लियोनल मेसी। हो, अन्तर्राष्ट्रिय ट्रफीमा मेसीको नाम जोडियो भने त्यो नौलो कुरा हो। तर व्यवसायिक फुटबलमा उनका लागि ट्रफी जित्नु नौलो कुरा होइन भन्ने कुरा शनिबार बार्सिलोनाले जितेको ला लिगाबाट पनि पुष्टि हुन्छ।
ला लिगाका ३४ खेलमध्ये २५ मा जित, ८ मा बराबरी र २ खेलमा पराजय बेहोर्दै ८२ अंकका साथ लेभान्टेविरुद्ध घरेलु मैदानमा उत्रिएको थियो, बार्सा। ला लिगाको उपाधि उचाल्नका लागि १ जितको खाँचो थियो। र जितका लागि गोलको खाँचो। हुन त बार्साको तत्कालको फर्मलाई हेर्ने हो भने जित निश्चितजस्तै आँकलन गर्न सकिन्थ्यो। तर उही लेभान्टेले गत सिजन बार्सालाई ५-४ को नमिठो हार चखाएको थियो। र कतै त्यसको झस्को पनि।
बार्सिलोनाका अर्नेस्टो भल्भार्डेले लगातार दोस्रो सिजन ला लिगा उचाल्नका लागि मेसीबिना स्वारेज, काउटिन्हो, राकिटिच तथा डेम्बेलेलगायत खेलाडीलाई मैदानमा उतारे। म्याच रेफ्री रिकार्डो डि बुर्कोसले विसल बजाएसँगै शुरु भयो गोलको खोजी।
खेलको दोस्रो मिनेटमा स्वारेजले पोष्टमा प्रहार गरे। तर गोल भएन। काउटिन्होले तेस्रो मिनेटमा प्रयास गरे। फेरि पनि गोल भएन। समय समयमा लेभान्टेले पनि गोल गर्ने कोसिस गर्यो। तर गोल भएन। बार्साका स्वारेज, पिके, डेम्बेले, भिडाल, राकिटिच डटिरहे तर गोल भएन। पहिलो हाफको खेल गोलरहित बराबरीमा सकियो।
दोस्रो हाफको खेलसँग बार्सिलोना थप आक्रामक शैलीमा देखियो। कारण एउटै थियो उनै अर्जेन्टाइन म्याजिसियन को मेसीको मैदान प्रवेश। पहिलो हाफमा निरन्तर प्रयासबाट गोल हुन नसकेपछि प्रशिक्षक भल्भार्डैले उचाल्न लागेको ट्रफीका लागि विलम्ब गर्ने कुरै भएन। त्यसैले दोस्रौ हाफमा फिलिपे काउटिन्होको स्थानमा मुख्य हतियार मेसीलाई उतारे।
मेसीको उपस्थितिले मैदानमा थप उर्जा थपेको स्पष्ट देखिन्थ्यो। मैदानमा प्रवेश गरेदेखि नै गोलका लागि प्रयास गरिरहेका मेसीले खेलको ६१औँ मिनेटमा उत्कृष्ट गोल गरे। लेभान्टेको डि-बक्समा भिडालले हेडरमार्फत मिलाइदिएको पासमा विपक्षी टोलीका २ खेलाडीलाई चलाख ढंगले बिट गर्दै दायाँ खुट्टाले गरेको प्रहार गोलमा परिणत भयो।
पछिल्लो ६० मिनेटदेखि गरेको निरन्तर संघर्ष एकाएक उल्लासमा परिणत भयो। उनकै कारणबाट जसले एक्लै ला लिगामा बार्साका लागि यसै सिजन मात्र १७ अंक जोडेका छन्। यसअघि ३३ गोल र १५ असिस्ट गरेका मेसीले खेलको निर्णायक र बार्साका लागि उपाधि दिलाउने व्यक्तिगत ३४औँ गोल गरे।
मेसीको गोलसँगै बार्सिलोनाले ११ वर्षमा आठौँ पटक र लगातार दोस्रो वर्ष ला लिगा जित्यो। जितसँगै मेसी आफ्नो नाममा नयाँ कीर्तिमान पनि बनाए। जुन कीर्तिमान कुनै एक वा दुई सिजन उत्कृष्ट प्रदर्शन गरेर कुनै खेलाडीले जित्न सक्दैन। बार्सिलोनालाई २५औँ ला लिगाको उपाधि दिलाएका मेसीले आफ्नै पूर्वसहकर्मी तथा सहकर्मी खेलाडीहरुको कीर्तिमान भंग गर्दै १० पटक ला लिगा जित्ने बार्साको पहिलो खेलाडी बने। यस क्रममा उनले आन्द्रे इनिएस्टा र जाभि हर्नान्डेजसँगै पिके र बुस्केटको ९ पटकको रेकर्ड तोडे।
स्पेनिस फुटबलको इतिहासलाई हेर्ने हो भने मेसीले यो उपाधिसँगै सर्वाधिक सफल फुटबलर भनेर चिनिने रियल मड्रिडका पूर्व खेलाडी जोसे मार्टिनेज साञ्जेज (पिर्री)सँग बराबरी गरेका छन्। उनले पनि ला लिगाका ५ सय ६१ खेल खेल्दै १० ला लिगा उपाधि उचालेका थिए।
बार्सिलोनाको हकमा मेसीको नाममा यो कीर्तिमान रहे पनि समग्र स्पेनिस फुटबलको हकमा भने पूर्व रियल मड्रिडका लेफ्ट विङ्गर फ्रान्सिस्को गेन्टो सर्वाधिक ला लिगा जित्ने खेलाडी हुन्। उनले १२ पटक यो उपाधि जितेका छन्। त्यति मात्र होइन, सर्वाधिक ८ पकट युरोपियन कप (हालको च्याम्पियन्स लिग)को फाइनल खेलमा देखिएका गेन्टोले ६ पटक सोही उपाधि पनि उचालेका छन्।
गत सिजन फुटबलकाे सर्वश्रेष्ठ अवार्ड बालोन डि ओर काे पाँचाैँ स्थानमा समेटिएका मेसी यस वर्ष उत्कृष्ट फर्ममा कम ब्याक गर्दै कीर्तिमानी छैठाैँ पटक उक्त अवार्डप्रति आफ्नो जोडदार दाबेदारी प्रस्तुत गरेका छन्।