काठमाडौँ - नेपालका युवा खेलाडी प्रिन्स दाहाल थाइल्याण्डको राजधानी बैंककमा जारी ‘योनेक्स सिङ्गा-रोजा बिटिवाईअन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’को ब्वाइज यू-१७ को सेमिफाइनलमा प्रवेश गरेका छन्। जितसँगै उनले अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा पदक जित्ने पक्का भएको छ।
आज सम्पन्न क्वाटरफाइनल खेलमा प्रिन्सले थाइल्याण्डका नाटथप्पे श्रीउनलकलाई २-० सोझो सेटमा पराजित गरेका हुन्। प्रिन्सले पहिलो सेट २१-१३ अङ्कले तथा दोस्रो सेट २१-१४ अङ्कले जितेका हुन्। उनले सेमिफाइनलमा आज साँझ भारतीय खेलाडीसँग प्रतिस्पर्धा गर्ने बैंककमा रहेका प्रिन्सका व्यवस्थापक कमलेश निरौलाले जानकारी दिए। यसअघि प्रिन्सले शुक्रबार क्वाटरफाइनलमा फ्रान्सका लानिर एलेक्स मिचेललाई २१-१९ र २३-२१अङ्कले पराजित गरी अन्तिम आठमा स्थान बनाएका थिए।
प्रिन्सले यसअघि पहिलो चरणमा जापानका खेलाडीलाई २१-९ र २१-६ अङ्कले, दोस्रो चरणमा थाइल्याण्डका खेलाडीलाई २१-७ र २१-८ अङ्कले, तेस्रो चरणमा मलेसियाका खेलाडीलाई २१-१०, १७-२१ र २१-११ अङ्कले तथा चौथो चरणको खेलमा थाइल्याण्डका खेलाडीलाई २१-१० र २१-१३ अङ्कले पराजित गरेका थिए। प्रिन्सले गतवर्ष असोजमा युनाइटेड अरब इमिरेट्सको दुबईमा सम्पन्न‘दुबई जुनियर इन्टरनेशनल सिरिज’अन्तर्गत पुरुष यु-१५ को उपाधि जितेका थिए।
अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितमा नेपाली खेलाडीले पाएको यो नैअहिलेसम्मको ठूलो सफलता हो। उनले इण्डोनेशियाका खेलाडी क्रिस्टियनअगस्टिनलाई २१-११ र २१-११ अङ्कले पराजित गरेका थिए। उक्त प्रतियोगितामा भारत, पाकिस्तान, युएई, साउदी अरब, इण्डोनेशिया, स्वीडेन, बेलायत, केन्या, इजिप्ट, बहराइन र अल्जेरियाका खेलाडी सहभागी थिए। प्रिन्सले हालै प्रदेश नं ५ मा सम्पन्न आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कास्य पदक जितेका थिए।