काठमाडौँ - पेरिस सेन्ट जर्मन (पीएसजी)का स्टार फरवार्ड नेयमारमाथि यूईएफएले ३ खेलमा प्रतिबन्ध लगाएको छ। नेयमारमाथि सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत म्याच अफिसियलको अपमान गरेको आरोप छ।
जारी सिजन च्याम्पियन्स लिगको प्रि-क्वार्टरफाइनलमा पीएसजी म्यानचेस्टर युनाइटेडसँग पराजित भएपछि नेयमारले रेफ्रिप्रति इन्स्टामार्फत आक्रोश पोखेका थिए। म्याच रेफ्रिले भिडियो असिस्टेन्ट रेफ्रि (भीएआर)को मद्दतमा म्यानचेस्टर युनाइटेडलाई दिएको पेनाल्टी ‘डिस्ग्रेस’ भएको टिप्पणी गर्दै पोष्ट गरेका थिए।
उक्त खेलमा पीएसजीका किम्पेम्बेले ह्याण्ड गरेपछि इञ्जुरी समयको चौथो मिनेटमा युनाइटेडले पेनाल्टी पाएको थियो। सो पेनाल्टीमा मार्कोस रासफोर्डले गोल गर्दै युनाइटेडलाई क्वार्टर फाइनलमा पुर्याएका थिए।
चोटका कारण युनाइटेडविरुद्धका दुवै खेल गुमाएका नेयमारले भनेका छन्, ‘फुटबलको बारेमा केही पनि नजान्ने ४ जना टेलिभिजन अगाडि बसेर स्लो मोसन भिडियो हेरेर कसरी पेनाल्टी दिन सक्छन्?’
यो प्रतिबन्धसँगै चोटका कारण हाल मैदान बाहिर रहेका नेयमारले आउँदो सिजन च्याम्पियन्स लिगको लगभग आधा सिजन गुमाउने सम्भावना देखिएको छ।