एजेन्सी - इजिप्टमा सम्पन्न पछिल्लो जनमतसङ्ग्रहले राष्ट्रपति अब्देल फताह अल-सिसीको कार्यकाल बढाउने प्रस्तावलाई प्रचण्ड बहुमतले अनुमोदन गरेको छ।
इजिप्टको निर्वाचन आयोगका प्रमुख लाशिन इब्राहिमका अनुसार संशोधन प्रस्तावको पक्षमा ८८ दशमलव ८३ प्रतिशत र विपक्षमा ११ दशमलव १७ प्रतिशत मत खसेको थियो।
इजिप्टका राष्ट्रपतिको शासनकाल लम्ब्याउने प्रस्ताव सहितको संविधान संशोधन प्रस्तावमाथिको जनमतसङ्ग्रहका लागि शनिबारदेखि तीन दिने मतदान भएको थियो।
जनमतसङ्ग्रहले संविधान संशोधन प्रस्ताव पारित गरेका कारण राष्ट्रपति अल-सिसीको वर्तमान कार्यकालमा दुई वर्ष थप गरी सन् २०२४ सम्म पुग्नेछ भने त्यसपछि छ वर्षे कार्यकालका लागि उनी पुन: उम्मेदवार हुन पाउने छन्।
निर्वाचन परिणाम प्राप्त भएसँगै राष्ट्रपति सिसीले ट्वीट गर्दै आमजनताप्रति आभार व्यक्त गरे। चुनावमा करिब २ करोड ७० लाखले मतदान गरेका थिए तर यसपटक करिब ४४ प्रतिशत मात्र मतदान भएको थियो।