रीता लामा, घोराही - आठौँ राष्ट्रिय खेलकुद प्रदेश नं. ५ का विभिन्न जिल्लामा चलिरहेको छ। अहिले दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र पाल्पामा खेल भइरहेका छन्। विशेषगरी बाँके र दाङमा राष्ट्रिय प्रतियोगिताका अधिकांश खेल भइरहेका छन्।
दाङमा छनोट भएका ७ खेलमध्ये बास्केटबल, ब्याडमिन्टन, टेबुलटेनिस र एथलेटिक्स सकिए भने कराँते, महिला फुटबल र महिला क्रिकेट चलिरहेका छन्। प्रदेश नं. ५ को केन्द्रमा पर्ने दाङमा पछिल्लो समय शहरीकरण बढ्दो छ। सोहीअनुसार यहाँको बजार पनि महँगिँदै गएको छ तर राष्ट्रिय प्रतियोगिता जिल्लामा चलिरहँदा राष्ट्रियस्तरको खेलाडीका लागि दिइएको सेवासुविधा र यहाँको बजार मूल्यबीच मेल खान सकेको छैन।
सबै खेलका खेलाडीलाई दैनिक रु. १ हजार ४ सय भत्ता दिइएको छ तर यहाँको होटलका कोठा ७/८ सयदेखि ५ हजारसम्म मूल्यका छन्। केही दिनपहिला सकिएको बास्केटबल, टेबुलटेनिस, ब्याडमिन्टनका केही खेलाडी यहाँको व्यवस्थापन समितिले व्यवस्था गरेको होटल चित्त नबुझेपछि आफ्नै पैसामा छुट्टै होटलमा बसेका थिए।
अहिले महिला क्रिकेट लमहीको खेलमैदानमा चलिरहेको छ तर त्यहाँ खेल्ने खेलाडीले समयमा जर्सीसमेत पाउन सकेका छैनन्। हिजो मात्रै खेलबाट बाहिरिएको प्रदेश नं. ५ को महिला क्रिकेट खेलाडीले तीन खेल पुरानो जर्सीमा खेले। खेलमा उनीहरूले लगातार पराजित भएपछि, खेलबाट बाहिरिएका प्रदेश नं. ५ का खेलाडीले जाने समयमा जर्सी लिएर घर गएका छन्।
जिल्ला क्रिकेट सङ्घका अध्यक्ष प्रदीप मजगैँयाका अनुसार खेलाडीले आवश्यकताअनुसार भत्ता नपाउनु, जर्सी नपाउनु, स्तरीय होटलमा बस्न नपाउनुजस्ता समस्या झेलिरहेका छन्। उनले पछिल्लो बजार भाउअनुसार खेलाडीलाई भत्तासमेत निकै थोरै भएकोप्रति चित्त दुखाए। जिल्ला खेलकुद समितिले क्रिकेट सञ्चालनका लागि आफूहरूसँग कुनै समन्वय नगरे पनि जिल्लामा क्रिकेट सञ्चालन भइरहेको हुदाँ क्रिकेटप्रतिको माया, इज्जतकै कारण आफूहरूले सबै प्राविधिक सहयोग गरेको उनको भनाइ छ।
“जिल्लालाई ७ राष्ट्रिय खेल खेलाउने अवसर जुरेको छ तर व्यवस्थापन वडा तहमा खेलाइने खेल जतिको पनि छैन,” अध्यक्ष मजगैँयाले भने, “यहाँ भएका कुनै पनि खेल त्यहीसँग सम्बन्धित सङ्घसस्थालाई दिइएको छैन। हामीले त क्रिकेटको लाज छोप्नका लागि पनि सहयोग गरिरहेका छौँ।”
जिल्ला खेलकुद समितिका पदाधिकारीले सबै खेलमा संयोजनको जिम्मेवारी बाँडेका छन् तर खेलअनुसार खेलाडी र पूर्वाधारको व्यवस्थापन हुनसकेको छैन, जसका कारण यहाँ भइरहेको खेल व्यवस्थापनलाई सबैले फितलो भन्दै टिप्पणी गरिरहेका छन्।
जिल्लामा खेलसँग सम्बन्धित सङ्घ, सङ्गठन आफ्नै उत्पादनका खेलाडी, आफ्नै चिनेजानेका साथी जिल्लामा आउँदा सक्रियताका साथ खेलकुदमा सहभागिता जनाएको देखिन्छ तर यहाँको पूर्वाधार समस्या, खेल खेलाउने ठाउँको सही छनोट नहुँदासमेत समस्या भएको छ।
अहिले जिल्लामा महिला फुटबलसमेत चलिरहेको छ। राष्ट्रिय खेलमा सहभागी १० समूहमध्ये आधा दाङ र आधा कपिलवस्तुमा खेले तर सेमिफाइनल र फाइनल खेल भने दाङमा हुँदैछ। दाङमा पनि बिहानको खेल घोराहीमा र साँझको खेल तुलसीपुरमा गराइएको छ। तुलसीपुरमा भर्खरै निर्माण गरिएको रङ्गशालामा राष्ट्रिय खेलकुद शुरु भएपछि तयारी थालिएको थियो।
समयमा मैदान तयार नहुँदा रङ्गशालामा फुटबल खेल्नै समस्या भएको खेलाडीले बताएका छन्। तुलसीपुरमा कराँतेका लागि निर्माण गरिएको कवर्डहल पूर्ण छैन। हलको आधा भाग मात्रै छानो लगाइएको छ। तत्काल भित्री भाग घाम छेक्नका लागि त्रिपाल लगाएर खेल सञ्चालन भइरहेको छ।
मैदानमा रोपिएको दुबोसहितको माटो सम्याउने काम नगर्दा बल हानेको ठाउँतिर नगई अन्तै मोडिने समस्या देखिएको छ। त्यसमाथि बजार क्षेत्रभन्दा टाढा भएको हुँदा रङ्गशालामा राष्ट्रिय खेल हुँदा न खेलाडीले दर्शक पाएका छन् न खाजा खाने ठाउँ, न केही समस्या भइहाले तत्काल उपचारको व्यवस्था।
जिल्ला फुटबल सङ्घका महासचिव नरेन्द्र पुनमगर पनि बजार क्षेत्रभन्दा टाढा खेल हुँदा खेलाडीलाई समस्या हुने चिन्ता व्यक्त गर्छन्। “कुनै दुर्घटना भए तुरुन्त अस्पताल ल्याउनुपर्ने हुन्छ, खेलाडीलाई भोकप्यास लाग्दा होटल चाहिन्छ, त्यो सबै बेलझुण्डी रङ्गशालाबाट टाढा छ,” उनले भने, “राष्ट्रिय खेलमा पूर्वाधार बन्यो तर अपरिपक्व व्यवस्थापन भयो।” खेलमैदान तयार भए पनि सबैसँग समन्वय नहुँदा राष्ट्रिय खेलको गरिमा जोगिन नसकेको उनले बताए।
यस्तै जिल्ला फुटबल सङ्घका जिल्ला अध्यक्ष सुशील श्रेष्ठ भने आफूले फुटबलसँग जोडिएका सबै खेलाडी र प्रशिक्षक, रेफ्रीलाई उचित व्यवस्थापनसँग राखेको बताउँछन्। “उनीहरूको खानपान र आवास सबै हेरिरहेको छु, कुनै कमी हुन दिएको छैन,” उनले भने।
केही जिल्ला खेलकुद सङ्घका पदाधिकारीले नै अध्यक्ष डिल्ली डाँगीले आफ्नो क्षेत्र भन्दै मनोमानी गरेको आरोप लगाएका छन् तर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगी भने आफूले निकै मेहनत गरेर खेलकुदको पूर्वाधार तयार गरेको बताउँछन्।
खेलकुदको संरचना निर्माण गर्दा आवश्यक सामग्री र बनाउने निर्माणकर्तासमेत बाहिरबाट ल्याउनुपर्ने हुँदा धेरै कठिनाइ भएको हुँदा सबै संरचना समयमा बन्न नसकेको उनको भनाइ छ।
“दुबोसमेत नेपालमा नपाएर कोलकाताबाट ल्यायाैँ, उनले भने, “आवश्यक सामग्री यहाँ पाइँदैन, बाहिरबाट ल्याउँदा ३ महिना अगाडि नै भन्नुपर्छ।” विभिन्न कारणले १ वर्षभित्रै सबै प्रक्रिया पुर्याउन र संरचना निर्माण गर्न निकै समस्या भएको उनले बताए।
जिल्लामा राष्ट्रिय खेल आयोजना गर्नु, करोडौँको भौतिक संरचना तयार हुनुले जिल्लाको गौरव बढेको र आगामी दिनमा हुने खेलकुदका कार्यक्रमसमेत आफूहरूले सहजै तयार पार्ने उनी दाबी गर्छन्। खेलाडीलाई भत्ताको व्यवस्था निकै थोरै भएको भन्ने गुनासो आइरहेको समयमा जिल्ला अध्यक्ष डाँगीले भने आफूहरूले प्रतिखेलाडी रु. २ हजार ५ सय मागे पनि सरकारले नदिएपछि रु. १ हजार ४ सयमै चित्त बुझाउनुपरेको सुनाए।