नेपालगञ्ज - आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याराथनमा पुरुषतर्फ आर्मीका कृष्ण बस्नेत र महिलामा नेपाल पुलिसकी राजपुरा पछाइले स्वर्ण जितेका छन्।
दाङको बेलझुन्डीमा भएको दौडमा कृष्णले निर्धारित दुरी २ घण्टा १७ मिनेट ३३ सेकेण्डमा पूरा गरे। उनले कर्णालीका दुर्गा बहादुर बुढालाई पछि पारेका थिए। दुर्गाले २ घण्टा १८ मिनेट ३९ सेकेण्डमा दौड पुरा गर्दै रजत जिते। यस्तै २ घण्टा २२ मिनेट १० सेकेण्डको समयसहित एपीएफका किरण सिंह बोगटीले कास्य जिते।
महिलातर्फ नेपाल पुलिस क्लबकी राजपुरा पछाईले स्वर्ण जिकेकी छन्। उनले २ घण्टा ५९ मिनेट ३८ सेकेण्डमा निर्धारित दुरी पूरा गरेकी हुन्।
त्यस्तै, एपीएफकी पुष्पा भण्डारीले ३ घण्टा ६ सेकेण्डका साथ रजत जितिन्। आर्मीका सरिता थेबेले ३ घण्टा ८ मिनेट ३ सेकेण्डको समयसहित कास्य जितिन्।
म्याराथन हेमन्तपुर, विजौरी, ग्वार खोला, पर्सेनी, तुलसीपुर, दोघर्रे, डाडाँ चिस, बाघर पिपलको रुख नजिबाट घुमेर श्रीगाउँ सातनम्बर वडा कार्यालय अगाडी, कुमलगढी,गहतेखोला पुल, तुलसीपुर हुँदै मोतिपुर, विजौरी, हेमन्तपुरहुँदै बेलझुण्डी रंगशालको ट्रयाकमा एक राउण्ड पछि समापन भएको थियो।