नेपालगञ्ज - विभागीय टिम त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलको सेमिफाइनलमा प्रवेश गरेका छन्। बाँकेको खजुरास्थित शुक्र भलिबल कोर्टमा जारी प्रतियोगितामा पुलिसले समूह ख को विजेता र एपीएफले उपविजेताको रुपमा अन्तिम चारको यात्रा तय गरेका हुन्।
सोमबार भएको महिला पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फका खेलमा त्रिभुवन आर्मी क्लव र कर्णाली प्रदेश विच प्रतिस्पर्धा भएको थियो।
जसमा त्रिभुवन आर्मी क्लबले ३-० को सोझो सेटको जित निकाल्यो। जसमा आर्मीले २५-१४, २५-१८, २५-११ अंक प्राप्त गरेको थियो। यस्तै दोस्रो खेलमा सुदूरपश्चिमविरुद्ध एपीएफले ३-० को सोझो सेटको जित हासिल गरेको छ।
२५-२२, २५-१८, २५-१३ अंक प्राप्त गरि एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार नै महिला भलिबल तर्फको खेलमा पहिलो प्रदेश- ३ले गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेको छ। प्रदेश-३ ले २५-११, २५-१९, २५-१५ अंकले नतिजा आफ्नो पक्षमा पारेकाे हो।
यस्तै महिला तर्फकै दोस्रो खेलमा एपीएफले पुलिसलाई ३-० को सोझो सेटमा पराजित गर्यो। २५-१८, २५-१६, २५-१७ अंकले एपीएफ विजयी भएको हो। मंगलबार सेमिफाइनल हुने आयोजकले जानाकारी दिएको छ। महिला पुरुष भलिबल प्रतियोगितामा १०-१० टिम सहभागिता रहेका थिए। खेल वैशाख ४ गतेदेखि सञ्चालन भएको मुख्य प्रशिक्षक सलिना श्रेष्ठले जानकारी दिएकी छन्।