एजेन्सी - आइतवार श्रीलंकामा भएको शृङ्खलाबद्ध विस्फोटनमा मारिनेहरूको सङ्ख्या २ सय ९० पुगेको छ। प्रहरीले २४ जनालाई गिरफ्तार गरे पनि सरकारले आक्रमणकारीको पहिचान गरेको छैन।आक्रमणमा ५ सय जना घाइते भएको र दर्जनौं विदेशीहरू मारिएको बताइएको छ।
सुरक्षा निकायमाथि कारबाहीको माग
श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आइतबारको आक्रमणका बारेमा प्राप्त पूर्व सूचनाका आधारमा सुरक्षा निकायले कारबाही अगाडि नबढाएको विषयमा छानबिन हुनुपर्ने बताएका छन्।
टेलिभिजन सम्बोधनमा उनले उक्त आक्रमणका बारेमा प्राप्त सूचनाबारे आफूलगायत अन्य मन्त्रीहरूलाई समेत जानकारी नदिइएको बताएका थिए। तर उनले अबको प्राथमिकता दोषीलाई कारबाही गर्ने रहेको उल्लेख गरेका छन्।
उक्त आक्रमणमा ३५ जना विदेशीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। घटना पछि श्रीलंकामा मिथ्या सूचनाहरू फैलिएको भन्दै सामाजिक सञ्जालको प्रयोगमा समेत रोक लगाइएको छ। श्रीलंकामा सरकारले लगाएको कर्फ्यु सोमबार बिहान ६ बजेबाट हटाइएको छ।
यस अधि श्रीलंकाका एक जना मन्त्री हरिन फर्नानडोले नाम नखुलाइकन एउटा समूहले १० दिन अगाडि आक्रमण गर्न सक्ने सूचना दिएपनि सम्भावित घटना बारे राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सरकारलाई जानकारी दिन नसकेको बताएका थिए।