एजेन्सी - श्रीलंकाको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर (चर्च) सहित देशका पूर्वी भेगमा आइतबार भएका ६ वटा शृङ्खलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या १ सय ८५ जना पुगेको प्रहरी र अस्पताल स्रोतले जनाएको छ।
मृत्यु हुनेमा ३५ जना विदेशी नागरिक समेत छन्। विस्फोटका कारण अरु करिब ५ सय व्यक्ति घाइते भएका छन्। राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र होटलमा गरी ४५ जनाको ज्यान गएको छ भने राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्च बिस्फोटमा ६७ जनाको मृत्यु भएको छ।
सेन्ट एन्थोनी विस्फोटमा कम्तीमा १६० जना घाइते भएका र उनीहरुलाई उपचारका लागि कोलम्बो नेसनल अस्पतालमा भर्ना गरिएको छ। चर्च सहित राजधानीका तीनवटा पाँचतारे होटलमा पनि बम विस्फोटनका घटना भएको प्रहरीले जनाएको छ।
राजधानी कोलम्बोका साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरी होटलमा पनि विस्फोट भएका छन्। मुलुकको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको चर्चमा भएको विस्फोटमा २५ जनाको मृत्यु भएको छ।
बाट्टिकोलोवा अस्पतालका एक अधिकारीले चर्चमा भएको विस्फोटबाट घाइते भएका ३०० भन्दा बढी व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको बताएका छन्।
विस्फोट निकै शक्तिशाली भएका कारण चर्चभित्र व्यापक क्षति भएको देखिएको छ। चर्चको भुँइ टुटेफुटेका टाइल, भाँचिएका काठपात र रगत लतपतिएको देखिएको छ।
बौद्धमार्गी बहुल श्रीलंकामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन्। गिर्जाघरहरुमा विस्फोट हुँदा इसाई धर्मावलम्बीहरु इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी रहेको बताइएको छ।
कोलम्बो नजिकको होटलमा पुनः विस्फोट, २ जनाको मृत्यु
शृङ्खलाबद्ध बम आक्रमणबाट प्रताडित श्रीलंकाको राजधानी कोलम्बोको नजिक देहीवालामा आइतबार अपराह्न पुनः बम विस्फोट भएको छ। विस्फोटबाट दुई जनाको मृत्यु भएको श्रीलंकाली प्रहरीका प्रवक्ताले जनाएका छन्।
प्रहरी प्रवक्ता रुवान गुनसेकराले आइतबार भएको यो बिस्फोट सातौँ रहेको जानकारी दिए। यसअघि देशको राजधानी कोलम्बोसहित छ वटा शृङ्खलाबद्ध विस्फोट भएका थिए। यस्तै, राजधानी कोलम्बोको उत्तरी ओरुगोदावाट्टामा पनि आठौँ विस्फोट भएको छ।
विश्वका नेताहरुद्वारा भर्त्सना
श्रीलंकामा भएको रक्तपातपूर्ण आक्रमणको पाकिस्तान, बेलायत, इजरायल, युरोपेली युनियन समेका मुलुक एवं संस्थाहरुले
भर्त्सना गरेका छन्।
कोलम्बोमा कर्फ्यु घोषणा
श्रीलंकाको राजधानी कोलम्बोमा पुनः दुईवटा बम विस्फोटन भएपछि सरकारले आइतबार साँझदेखि सोमबार बिहानसम्मका लागि निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ।