बाँके - आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बाँकेको नेपालगञ्जमा आज भएको पौडी प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले तीन स्वर्ण जितेको छ।
चार स्पर्धाको प्रतिस्पर्धामा एनआरएनएले एक स्वर्ण हात पारेको छ। महिला ८ सय मिटर फ्रिस्टाइल स्पर्धामा त्रिभुवन आर्मीका उपास्ती महर्जनलाई पराजित गरी त्रिभुवन आर्मीकै गौरिका सिंहले स्वर्ण पदक हात पारिन्।
उक्त विधामा नेपाल पुलिस क्लबका सामिरा शोभा थापाले कास्यमा चित्त बुझाइन्। त्यस्तै पुरुष ८ सय मिटर फ्रिस्टाइल पौडी प्रतियोगितामा एनआरएनएका नाथनध्वज श्रेष्ठले स्वर्ण पदक हात पारे भने एपीएफका नासिर हुसैनले रजत र एपीएफकै अर्जिन महर्जनले कास्य पद हात पारे।
यसैगरी, महिला २ सय मिटर पौडी प्रतियोगितामा त्रिभुवन आर्मीकी दुआना लामाले स्वर्ण हात पार्दा एपीएफ क्लबका श्रीवी महर्जनले रजत र एपीएफकै दिया स्थापितले कास्यमा चित्त बुझाइन्। पुरुष २०० मिटर पौडी प्रतियोगितामा त्रिभुवन आर्मीका अनुभव सुब्बाले स्वर्ण जिते।
उनले दुई मिनेट २० सेकेण्डमा दूरी पार गरे भने २ मिनेट २३ सेकेण्डमा दूरी पार गरी एनआरएनएका नथनध्वज श्रेष्ठले रजत र नेपाल पुलिस क्लबका सैयद हमजा शाहले कास्य पदक जितेका छन्।