काठमाडाैँ – श्रीलङ्काको राजधानी कोलम्बो र अन्य स्थानमा भएका शृङ्खलाबद्ध विस्फोटनमा विदेशी नागरिकहरू पनि परेको विवरण सार्वजनिक भएको छ। कोलम्बो अस्पतालले नौ विदेशीको मृत्यु भएको पुष्टि गरेको छ।
विभिन्न गिर्जाघर र होटलमा भएका विस्फोटनमा कम्तीमा १ सय ५८ जनाको मृत्यु भएको प्रहरी र अस्पतालस्रोतले जनाएका छन्। तर श्रीलङ्कामा बसोबास गर्ने नेपाली समुदायका सदस्यबारे अहिलेसम्म कुनै अप्रिय जानकारी नआएको र सबै सुरक्षित भएको हुन सक्ने श्रीलङ्काका लागि नेपाली राजदूत विश्वम्भर प्याकुर्यालले बताए।
दूतावासकी प्रथम सचिव धनकुमारी जोशीका अनुसार त्यहाँ बस्ने नेपालीहरूले सामाजिक सञ्जाल फेसबुकको एउटा समूहमा आफूहरू सुरक्षित भएको जानकारी दिएका छन्। हताहत भएका विदेशी नागरिकहरूको राष्ट्रियता भने अझै स्पष्ट भइसकेको छैन।
श्रीलङ्का सरकारले विदेशी कूटनीतिज्ञहरूसँग भेटघाट गरेर औपचारिक जानकारी दिएपछि मात्र त्यो स्पष्ट हुन सक्ने राजदूत प्याकुर्यालको भनाइ छ।
कति नेपाली छन्?
कोलम्बोमा बौद्ध भिक्षु, विद्यार्थी, व्यापारी र विभिन्न सेवाक्षेत्रमा काम गर्ने व्यक्तिहरू एवम् तिनका परिवारका सदस्यसमेत झन्डै चार सय नेपालीहरू भएको अनुमान नेपाली दूतावासको छ। श्रीलङ्काभरि भने झन्डै एक हजार नेपालीहरू भएको बताइन्छ। सरकारले साँझ छ बजेदेखि बिहान छ बजेसम्मका लागु हुनेगरी कर्फ्यू लगाएको छ।
ब्रेकफास्ट खाएर निस्किएका थिए उनी...
गिर्जाघर र होटलहरूमा विस्फोटन भएको र धेरै मानिस हताहत भएको समाचारले श्रीलङ्कामा बस्ने नेपाली समुदाय पनि स्तब्ध भएको छ। त्यसमध्ये परशु घिमिरे चाहिँ झन् बढी छक्क परेका छन्।
किनभने आइतवार बिहानको खाना खाएर निस्किएको ठाउँमा आधा घण्टापछि विस्फोटन भएको खबर उनले पाए। उनी डेढ महिना समयदेखि कोलम्बोस्थित साङ्ग्रिला होटलको अपार्टमन्टमा बस्दै आएका छन्।
उनले भने, टीभीहरूले मैले ब्रेकफास्ट खाएको टेबल देखाइराखेका छन्। गौतम विगत १४ वर्षदेखि श्रीलङ्कामा व्यापार गर्दै आएका छन्।
घटनाबारे थाहा पाएपछि उनले नेपाली दूतावासलाई आफू सुरक्षित भएको जानकारी दिए। भन्छन्, त्यहाँ स्थिति तनावपूर्ण रहेको र सुरक्षित पनि नलागेकोले म फर्केर होटल गएको छैन। उनी अहिले पेलियागोडास्थित कार्यालयमा छन्। (वीवीसी)