एजेन्सी - श्रीलङ्काका गिर्जाघर र होटलहरूमा विस्फोटन हुँदा दर्जनौँ मानिसहरू हताहत भएको छ। शनिबार बिहान देशका विभिन्न स्थानमा रहेका गिर्जाघर र होटलमा गरेर कम्तीमा ६ वटा विस्फोटन भएका थिए।
यसै क्रममा भएका विभिन्न बम बिस्फोटमा परी हालसम्म १ सय ३८ जनाको मृत्यु हुनुका साथै ४ सय जनाभन्दा बढी घाइते भएको सुरक्षा निकाय तथा अस्पतालले जानकारी दिएको छ। श्रीलङ्कामा १० वर्ष अघि सकिएको गृहयुद्ध पछि भएको यो सबैभन्दा ठूलो विस्फोट हो।
इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहँदा राजधानी कोलम्बोस्थित कोचीकाडे, नेगम्बो र बाट्टीकालोवामा रहेका तीनवटा चर्च तथा सांग्रिला, सिनामोन ग्राण्ड र किंग्सबरी होटलमा बम विस्फोट भएको हो।
कोलम्बोको कोचीकाडे गिरिजाघरमा भएको विस्फोटमा मात्रै ५० जनाको मृत्यु भएको बताइएको छ। यस्तै बाट्टीकालोवास्थित चर्चमा भएको विस्फोटमा मर्नेको संख्या २५ रहेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।
होटलमा भएको विस्फोटमा परी कतिजना हताहत भए भन्ने खुलाइएको छैन। यद्यपी मर्नेहरुमा ९ जना विदेशी रहेको सुरक्षा निकायले पुष्टि गरेको छ। आक्रमणको जिम्म कसैले नलिएको पनि सुरक्षा निकायले जनाएको छ।
विस्फोट लगत्तै प्रधानमन्त्री रनील विक्रमासिंघेले सुरक्षा परिषदको आपत्कालिन बैठक बोलाएका छन्।