एजेन्सी - अफ्रिकी मुलुक मालीको मोप्तीमा तैनाथ राष्ट्रसङ्घीय शान्ति सेना चढेको सवारी साधनलाई लक्षित गरी शनिबार गरिएको बारुदी सुरुङ बिस्फोटबाट १ जना शान्ति सैनिकको मृत्यु भएको छ। अन्य ४ जना सैनिक घाइते भएका छन्।
राष्ट्रसङ्घको माली मिसनद्वारा जारी वक्तव्यमा मारिएका शान्ति सैनिक इजिप्टका रहेको उल्लेख छ। शान्ति सैनिकहरु चढेका सवारी साधनहरु बोनीबाट डुएन्जातर्फ जाँदै थिए।
राष्ट्रउसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले शान्ति सैनिकको निधनप्रति गहिरो दुःख प्रकट गर्दै शान्ति सैनिकमाथिको आक्रमणलाई युद्ध अपराधका रुपमा लिइने र यसलाई अन्तर्राष्ट्रिय कानुन बमोजिम कारबाही गरिने बताएका छन्।
उत्तरी मालीमा सन् २०१२ मा अतिवादी लडाकू समूहले नियन्त्रण कायम गरेपछि राष्ट्रसङ्घीय सुरक्षा परिषदको निर्णयबमोजिम सन् २०१३ मा शान्ति सैनिक तैनाथ गरिएको छ। सन् २०१५ मा राष्ट्रसङ्घको अगुवाईमा सरकार र विभिन्न सशस्त्र समूहबीच शान्ति सम्झौता भए पनि मालीको मध्य र उत्तरी क्षेत्रमा स्थायित्व ल्याउन सकिएको छैन।
माली शान्ति मिसनका क्रममा हालसम्म १ सय ९० जना शान्ति सैनिकको मृत्यु भइसकेको छ।