एजेन्सी - श्रीलङ्काका गिर्जाघर र होटलहरूमा विस्फोटन हुँदा दर्जनौँ मानिसहरू हताहत भएको छ। शनिबार बिहान देशका विभिन्न स्थानमा रहेका गिर्जाघर र होटलमा गरेर कम्तीमा ६ वटा विस्फोटन भएका थिए।
बीबीसी सिंहला सेवाले कोलम्बोबाट प्राप्त जानकारीका आधारमा कम्तीमा १ सय जनाको ज्यान गएको विवरण प्रकाशित गरेको छ।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार हताहत हुनेमा विदेशी पर्यटकहरू पनि हुन सक्छन्। कोच्चिकाडे, बट्टिकलोआ र कटुवापिटिया जिल्लामा रहेका गिर्जाघरमा आइतवार बिहान विस्फोटनहरू भएका थिए।
विस्फोटन हुँदा इसाई धर्मावलम्बीहरू इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी हुँदैथिए। मध्य कोलम्बोस्थित साङ्ग्रिला, सिनमन ग्र्यान्ड र किङ्सबरी होटलमा पनि छुट्टाछुट्टै विस्फोटन भएको बताइएको छ।
ती आक्रमणहरूको कसैले जिम्मा लिइसकेको छैन। यसअघि नाम उल्लेख नगरिएको एक स्रोतलाई उद्धृत गर्दै समाचारसंस्था एएफपीले कम्तीमा ८० घाइतेलाई राजधानी कोलम्बोको अस्पतालमा भर्ना गरिएको जनाएको थियो।
लङ्काका अर्थमन्त्री मङ्गल समरवीरले निर्दोष मानिसहरूको ज्यान लिँदै अराजकता सिर्जना गराउने प्रयासस्वरूप ती विस्फोटन गराइएको भन्दै प्रजातन्त्र, स्वतन्त्रता र आर्थिक समृद्धि चाहने सबैलाई एकजुट हुन आग्रह गरेका छन्।
विस्फोटनपछि संवेदनशील स्थानहरूमा सुरक्षाव्यवस्था बढाइएको छ। इसाई धर्मावलम्बीहरूले इस्टर पर्व मनाइरहँदा ती विस्फोटनहरू भएका हुन्। प्रत्येक वर्ष एप्रिल महिनामा पूर्णिमापछि पहिलो आइतवारको दिन इस्टर पर्व मनाइन्छ। (बीबीसी)