एजेन्सी - तालिबान र अफगान सरकारका प्रतिनिधिहरूबीच भएको वार्ता विफल भएको एक दिनपछि अफगानिस्तानको राजधानी काबुलमा रहेको सूचना मन्त्रालयमा सशस्त्र व्यक्तिहरूले शनिबार आक्रमण गरेको अफगान अधिकारीहरूले बताएका छन्।
शनिबार बिहान त्यहाँ विस्फोटन भएको र गोली चलेको आवाज सुनिएको थियो। सो आक्रमण राष्ट्रपति निवास र केही प्रसिद्ध होटलहरू भएको एउटा व्यस्त स्थाननजिकै रहेको मन्त्रालय परिसरको पर्खालमा भएको एक जना प्रत्यक्षदर्शीले बताएका छन्।
मन्त्रालय स्रोतका अनुसार सशस्त्र व्यक्तिहरूमध्ये एक जना मन्त्रालयको भवनमा पस्न सफल भएको, अर्को एक व्यक्तिले मन्त्रालयको परिसरको पर्खालमा विस्फोट गराएको र तेस्रो व्यक्तिलाई प्रहरीको गोली लागेको थियो।
मन्त्रालययका प्रवक्ता नस्रत रहिमीका अनुसार स्थानीय समयानुसार बिहान ११ बजेर ४० मिनेटमा विस्फोटन भएको थियो।
विष्फोट भएको क्षेत्रमा सरकारी कार्यालयका साथै केही ठूला होटलहरू पनि रहेको र विदेशीहरूको आवतजावत हुने स्थान पनि हो। स्थानीय टीभीहरूले देखाएको दृश्यमा एउटा सानो धुवाँको मुस्लो निस्केको र तल्लो तहको झ्यालबाट मानिसहरू बाहिर निस्कन लागेको देखिन्छ।
सयौँ सर्वसाधारणलाई उक्त भवनबाट उद्धार गरिएको मन्त्रालयले बताएको छ। त्यस क्षेत्रलाई अहिले सुरक्षाकर्मीले घेरेर राखेका छन्।
सशस्त्र विद्रोहीका प्रतिनिधिहरू र दुई सय ५० अफगान राजनीतिज्ञहरूबीच शनिवार र आइतवार कतारको राजधानी दोहामा एउटा शान्ति सम्मेलन हुने तय भएको बताइए पनि तालिबानले अफगान प्रतिनिधिमण्डलको आकार र उनीहरूको हैसियतबारे प्रश्न उठाउँदै बिहीवार अचानक उक्त सम्मेलन सहभागी नहुने घोषणा गरेको थियो।
शनिबार जारी गरेको एउटा वक्तव्यमा तालिबानले अफगान सरकारले ‘उक्त सम्मेलन र शान्ति प्रक्रियालाई भङ्ग गरेको’ आरोप लगाएको छ।