सुरेन्द्रबहादुर नेपाली, काठमाडौँ - चीनको राजधानी बेइजिङमा अप्रिल २५ देखि २७ सम्म आयोजना हुने दोस्रो बेल्ट एन्ड रोड फोरम (क्षेत्र तथा मार्ग मञ्च)मा विश्वका ४० मुलुकका नेता, १ सय ५० मुलुकका प्रतिनिधि तथा संयुक्त राष्ट्रसङ्घका साथै अनेकौँ अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संस्थाहरूले भाग लिने भएका छन्।
चिनियाँ राष्ट्रपति सी जिनपिङको आतिथ्यमा बेइजिङको नेसनल कन्भेन्सन सेन्टर (राष्ट्रिय सभा केन्द्र) मा आयोजना हुने यस मञ्चमा यस वर्ष रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन, सिङ्गापुरका प्रधानमन्त्री ली सिन लुङ, अस्ट्रेलियाली चान्सलर सबास्टियन कुर्ज, ग्रिसेली प्रधानमन्त्री अलेक्सी सिप्रास, हङ्गेरियाली प्रधानमन्त्री भिक्टर अर्बन, इटालेली प्रधानमन्त्री गिसेप कोन्ट तथा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पनि भाग लिने भएका छन्।
चिनियाँ विदेशमन्त्री वाङ यीलाई उद्धरण गर्दै रसियाली समाचार संस्था तास तथा सिङ्गापुरको स्ट्रेट्स टाइम्सले दिएको जानकारीअनुसार नेताहरू हुवाइरुको बाहिरी भागमा अवस्थित याङ्की तालमा गोलमेञ्चमा पनि सहभागी हुनेछन्। राष्ट्रपति सी जिनपिङले यस सम्मेलनमा ‘मुख्य वक्तव्य’ दिनेछन्।
यस भेलामा उच्चस्तरीय बैठक, विषयगत मञ्च तथा व्यापारिक प्रमुख कार्यकारी अधिकारीहरूको सम्मेलन आयोजना हुनेछ। यस सम्मेलनको प्रमुख विषय ‘बेल्ट एन्ड कोअपरेसन सेफिङ अ ब्राइटर सेयर्ड फ्युचर’ (साझेदारीयुक्त उज्ज्वल भविष्य निर्धारणमा सहयोग गर्न क्षेत्र र मार्ग) रहेको छ ।
यस भेलामा व्यावहारिक सहयोगमा ध्यान दिँदै १२ वटा विषयगत मञ्च आयोजना गरिनेछ र यसमा व्यापारिक समुदायका लागि पहिलोपटक सम्मेलन आयोजना गरिनेछ। यस भेलाबाट चीनले भविष्यको सहयोग योजनाका विषयमा दृष्टिकोण प्राप्त गर्ने अपेक्षा गरेको छ।
यस सम्मेलनमा चीनले उच्चस्तरीय सहयोग, परामर्श, सहयोग र फाइदा साझेदारीका सिद्धान्त, क्षेत्र तथा मार्गका लागि खुला, पारदर्शी तथा सहभागितामूलक विधि तथा वातावरण मैत्री तथा दिगो विकासको प्रयासमा मतैक्यता प्राप्त हुने आशा गरेको यस मञ्चको आधिकारिक वेबसाइटमा उल्लेख गरिएको छ।
यसबीच चीन तथा सहभागी मुलुकले क्षेत्र तथा मार्ग प्रयासका रणनीतिलाई संयुक्त राष्ट्रसङ्घको एजेन्डा सन् २०३० सँग समन्वय गर्ने प्रयास गरिरहेका छन्। यसबाट सामान्य जनताको जीवनस्तर उकास्न सकिने उनीहरूको बुझाइ छ।
सन् २०१३ माआरम्भ भएपछि बेल्ट एन्ड रोड इनिसिएटिभ (क्षेत्र तथा मार्ग प्रयास) मा हालसम्म १ सय २४ मुलुक तथा २९ वटा अन्तर्राष्ट्रिय संस्थाहरूले चीनसँग सहयोगका दस्तावेजमा हस्ताक्षर गरेका छन्।
‘सिल्क रोड इकोनोमिक बेल्ट’ (रेसम मार्ग आर्थिक क्षेत्र) तथा ‘ट्वेन्टी फर्स्ट सेन्चुरी म्यारिटाइम’ सिल्क रोड (एक्काइसौँ शताब्दी सामुद्रिकमार्ग) लाई ‘बेल्ट एन्ड रोड (बीएन्डआर)’ प्रयासका रूपमा लिइन्छ।
यो चिनियाँ राष्ट्रपति जिनपिङको आफ्नो मुलुक तथा प्राथमिक रूपमा युरोप र एसियाका बाँकी मुलुकबीच सञ्जाल तथा सहयोगमा आधारित विकास रणनीति तथा संरचना हो। यसका भूमिमा आधारित ‘रेसम मार्ग आर्थिक क्षेत्र’ र समुद्रमा आधारित ‘सामुद्रिक रेसम मार्ग’ गरी दुई प्रमुख भाग छन्।
यो प्रयास सहयोगका लागि खुला छ। यसले प्राचीन ‘रेसम मार्ग’का क्षेत्रलाई समेटी त्यसबाहिरका क्षेत्रलाई पनि समेट्ने प्रयास गरेको छ। चीन सरकारले यस प्रयासमा सबै मुलुक, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संंस्थाहरूलाई संलग्न गराउने प्रयास गरेको छ। एकीकृत प्रयासबाट व्यापक क्षेत्रलाई फाइदा पुग्ने अपेक्षायसले राखेको छ।
चीन सरकारले ‘क्षेत्र र मार्ग’ प्रयास संयुक्त राष्ट्रसङ्घको उद्देश्य र सिद्धान्तअनुसार रहेको दाबी गरेको छ। यस प्रयासले शान्तिपूर्ण सहअस्तिथ्यका पाँच सिद्धान्त एकअर्काको सार्वभौमसत्ता तथा क्षेत्रीय अखण्डताप्रति आपसी सम्मान, एकअर्का विरुद्ध अनाक्रमण, एकअर्काको आन्तरिक मामिलामा अहस्तक्षेप, समानता तथा आपसी फाइदा तथा शान्तिपूर्ण सहअस्तित्वलाई कायम राख्ने दाबी गरिएको छ।
यो प्रयास समन्वयकारी तथा समावेशी भएको दाबी गरिएको छ। यसले सभ्यताबीच सहिष्णुता राख्छ, विभिन्न मुलुकले अलम्बन गरेको विकासका मार्ग र स्वरूपको सम्मान गर्छ र सामूहिक स्थलको खोजीका सिद्धान्तमा आधारित भएर विभिन्न सङ्गठनबीच वार्तालाई सहयोग गर्छ भन्दै यसले सामूहिक समृद्धिका लागि सबै मुलुक सहअस्तित्वमा बाँच्न सक्छन् भन्ने अवधारणा राखेको छ।
यस प्रयासले बजार सञ्चालनलाई ध्यान दिएको छ। यसले बजारका नियम तथा अन्तर्राष्ट्रिय मान्यतालाई स्वीकार गरेको छ भने स्रोत विभाजनमा बजारले खेल्ने निर्णायक भूमिका, उद्यमको प्राथमिक भूमिका र सरकारले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने कुरालाई स्वीकार गरेको छ।
यस प्रयासले आपसी फाइदाको खोजी गरेको छ। यसले संलग्न सबै पक्षको अभिरुचि तथा चासोलाई स्वीकार गरेको छ र सबै पक्षको विवेक, सिर्जनशीलता, सबलता तथा सम्भावनालाई पूर्ण रूपमा खेल्न सहयोग गर्न सबैभन्दा ठूलो संयन्त्र खोजेको छ। यी कुरा ‘बेल्ट एन्ड रोड’को औपचारिक वेबसाइटमा उल्लेख गरिएको छ।
चीनले यस प्रयासमा बहुपक्षीय सञ्चार तथा परामर्शबाट दुईपक्षीय सहयोगलाई बलियो बनाउन तथा बहुपक्षीय सम्बन्धका एकीकृत विकासलाई प्रवर्द्धन गर्न चाहेको छ। साथै मुलुकहरूलाई समझदारीपत्र वा योजनामा हस्ताक्षर गर्न अभिप्रेरित गर्दै प्रमुख परियोजनामा दुईपक्षीय सहयोगलाई अभिप्ररित गरिरहेको छ।
चीनले दुईपक्षीय संयुक्त कार्य संयन्त्र स्थापना गर्ने र क्षेत्र र मार्ग प्रयासलाई अगाडि बढाउन कार्यान्वयन योजना तथा मार्गचित्र बनाइरहेको छ। चीनले दुई पक्षबीच संयुक्त समिति, मिश्रित समिति, समन्वय समिति, स्थायी समिति, व्यवस्थापन समिति जस्ता विद्यमान समितिलाई सहयोगका परियोजना कार्यान्वयन गर्न भूमिका दिने नीति राखेको छ।
चीनले शाङ्घाई कोअपरेसन अर्गनाइजेसन (शाङ्घाई सहयोग सङ्गठन), आसियानप्लस चाइना (आसियानजोड चीन), आसियान प्यासिफिक इकोनोमिक कोअपरेसन (आसियान प्रशान्त आर्थिक सहयोग), एसिया–युरोप मिटिङ (एसिया युरोप बैठक), एसियाको अपरेसन डायलग (एसिया सहयोग वार्ता), कन्फरेन्स अन इन्ट्रयाक्सन एन्ड कन्फिडेन्स बिल्डिङ मेजर्स इनएसिया (एसियामा अन्तरक्रिया तथा विश्वास निर्माणका उपाय सम्मेलन), चाइना–गल्फ कोअपरेसन काउन्सिल स्ट्रटेजिक डायलग (चीन–खाडी सहयोग परिषद् रणनीतिक वार्ता), ग्रेटर मेकङ सबरिजन इकोनोमिकको अपरेसन (बृहत् मेकङ उपक्षेत्र आर्थिक सहयोग), सेन्टर एसिया रिजनल इकोनोमिक कोअपरेसन (मध्य एसिया क्षेत्रीय आर्थिक सहयोग)जस्ता विद्यमान सहयोगका बहुपक्षीय संयन्त्रको भूमिका विस्तार गर्ने र त्यसलाई उपयोग गर्ने कार्य गरिरहेको छ।
चीनले ‘क्षेत्र र मार्ग’ वरपर रहेका मुलुकले आयोजनागर्ने बोआओ फोरम फर एसिया (एसियाका लागि बोआओ मञ्च), चाइना–आसियान एक्स्पो (चीन–आसियान प्रदर्शनी), चाइना–युरेसिया एक्स्पो (चीन–युरेसिया प्रदर्शन), युरो–एसिया इकोनोमिक फोरम (युरो–एसिया आर्थिक मञ्च), चाइना इन्टरनेसनल फेयर फर इन्भेस्टमेन्ट एन्ड ट्रे्ड (लगानी तथा व्यापारका लागि चिनियाँ अन्तर्राष्ट्रिय मेला), चाइन साउथ–एसिया एक्स्पो (चीन दक्षिण एसिया प्रदर्शन), चाइना अरब स्टेट्स एक्सपो (चीन अरब राज्य प्रदर्शन), वेस्टन चाइना इन्टरनेसनल फेयर (पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला), चाइना–रसिया एक्स्पो (चीन–रसिया प्रदर्शन) र कियानहाई कोअपरेसन फोरम (कियानहाई सहयोग मञ्च)जस्ता अन्तर्राष्ट्रिय मञ्चको सिर्जनात्मक भूमिकालाई अभिप्रेरित गरिरहेको छ।
साथै, चीनले सिल्क रोड (दुनहुआङ) इन्टरनेसनल कल्चर एक्पो (रेसम मार्ग (दुनहुआङ) अन्तर्राष्ट्रिय चलचित्रप्रदर्शन), सिल्क रोड इन्टरनेसनल फिल्म फेस्टिभल (रेसम मार्ग अन्तर्राष्ट्रिय चलचित्र उत्सव), सिल्क रोड इन्टरनेसनल बुक फेयर (रेसममार्ग अन्तर्राष्ट्रिय पुस्तक मेला)जस्ता लगानी, व्यापार तथा सांस्कृतिक आदान प्रदान क्रियाकलापलाई सहयोग गरिरहेको छ।
चीनले यसैका लागिअन्तर्राष्ट्रिय शिखर मञ्च स्थापना गरेको छ र यस मञ्चको नाम ‘बेल्ट एन्ड रोड फोरम’ (क्षेत्र तथामार्ग मञ्च) राखिएको छ। यस मञ्चको पहिलो बैठक सन् २०१७ को मे १४ देखि १५ सम्म बेइजिङमाआयोजनाभएको थियो । उक्त सम्मेलनमा २९ मुलुकका सरकार प्रमुख र १ सय ३० मुलुकका प्रतिनिधि सहभागी भएकाथिए। यसैगरी उक्त सम्मेलनमा७० वटा अन्तर्राष्ट्रिय संस्थाले पनि भाग लिएका थिए ।
पश्चिमी मुलुकले यस मञ्चलाई आफ्नै दृष्टिकोणले हेरेका छन्। अमेरिकी केबल न्युज नेटवर्क (सीएनएन)ले यसलाई ‘चाइनाज न्यु वर्ल्ड अडर’ (चीनको नयाँविश्वव्यवस्था)का रूपमा हेरेका छ भने लस एन्जलिस टाइम्सले यसलाई ‘ग्लोबलाइजेसन टु’ (विश्वव्यापीकरण दोस्रो संस्करण)का रूपमा हेरेको छ।