दिल्ली – भारतमा जारी लोकसभा चुनावको प्रचार–प्रसार चलिरहेका बेला दलका नेताहरूले जनताको आक्रोशको पनि सामना गर्नुपरिरहेको छ। एक व्यक्तिले बिहीबार भारतीय जनता पार्टीका नेता जीबीएल नरसिम्हा रावमाथि जुत्ताले प्रहार गरेको भोलिपल्ट अर्थात् हिजो शुक्रबार कांग्रेसका युवा नेता हार्दिक पटेललाई मञ्चमा भाषण गर्दागर्दै थप्पड हानिएको छ।
गुजरातको सुरेन्द्रनगर जिल्लामा आयोजित एक ‘जनआक्रोश सभा’का क्रममा एक व्यक्तिले कांग्रेसका युवानेता हार्दिक पटेललाई थप्पड हिर्काएका हुन्। पटेलले भाषण गरिरहँदा एक व्यक्ति दायाँतर्फबाट मञ्चमा उक्लिएर उनलाई अचानक थप्पड हानेको भिडियो समेत सार्वजनिक भएको छ। थप्पड प्रहार गर्नेलाई कांग्रेस कार्यकर्ताहरूले समातेर कुटपिट गरेका थिए। त्यसपछि प्रहरीले नियन्त्रणमा लिएर अस्पताल पुर्याएको थियो।
पटिदार आन्दोलनबाट उदाएका दलित नेता पटेल पछिल्लो समयमा कांग्रेस आईमा प्रवेश गरेका थिए। कांग्रेसको चुनावी अभियानमा सेलिब्रेटी बनिरहेका पटेलले कृषक र बेरोजगारीको मुद्दा उठाउने गरेका छन्। कानूनी अवरोधका कारण उनी कांग्रेसबाट चुनाव लड्न भने पाएका छैनन्। घटनापछि हार्दिक पटेलले बीजेपीमाथि हमला गराएको आरोप लगाएका छन। उनले बीजेपीले आफूलाई मार्न चाहेको बताएका छन्।