दोहा – अफगानिस्तानमा जारी युद्ध अन्त्य गर्ने उपाय पहिल्याउन यसैसाता कतारको दोहामा युद्धरत तालिबान र अफगान सरकारबीच हुन लागेको शान्ति वार्ता अनिश्चितकालका लागि स्थगित भएको छ।
वार्तामा सहभागी हुने अफगान प्रतिनिधिहरुको संख्या ठूलो भएको भन्दै तालिबान पक्षले आपत्ति जनाएपछि वार्ता स्थगित भएको हो। अफगान द्वन्द्वको शान्तिपूर्ण समाधान अफगानीहरुबीचकै वार्ताबाट टुङ्ग्याउनु पर्दछ भन्ने उद्देश्यबाट यसै साता विद्रोही तालिबानी समूह र अफगान प्रतिनिधिबीच वार्ता हुन लागेको थियो।
तर काबुलले ठूलो संख्याको प्रतिनिधिमण्डल पठाउने जानकारी दिएलगत्तै त्यसलाई अस्वीकार गरिएको तालिबानले जनाएको छ। अफगानिस्तानमा १७ वर्षदेखि जारी हिंसात्मक युद्ध अन्त्य गर्न अमेरिकी प्रयास पनि जारी छ। अमेरिकाले अफगानिस्तानका विभिन्न पक्षबीच हुने भनिएको वार्ता स्थगित भएकामा असन्तोष प्रकट गरेको छ।
अमेरिकी विशेषदूतको कार्यालयले दुबै पक्षलाई वार्तामा सहभागी हुन आग्रह गरेको छ। तर त्यस्तो वार्ताका लागि अर्को मिति घोषणा गरिएको छैन। वार्ताका आयोजक एवं द्वन्द्व तथा मानवीय अध्ययन केन्द्रका निर्देशक सुल्तान बराकातले एक विज्ञप्ति जारी गरी वार्तामा सहभागी हुने व्यक्तिहरुको नाम र पदका सम्बन्धमा समझदारी निर्माण गर्न पनि वार्ता स्थगित गर्नुपरेको बताएका छन्। ‘स्पष्टै छ वार्ताका लागि अहिले उपयुक्त समय रहेन,’ बराकातले भने।
अफगानिस्तानका राष्ट्रपति अश्राफ घानीको प्रशासनले गत मङ्गलबार अफगानिस्तानका विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्दै दोहा गोलमेच वार्तामा सहभागी हुने भनी २५० जनाको सूची सार्वजनिक गरेको थियो। यो सूचीमा सरकारी प्रतिनिधिहरुको नाम पनि समावेश थियो।
तर तालिबानले अफगान सरकारको नामावली ज्यादै ठूलो भएको जनाउँदै यतिठूलो संख्याका व्यक्तिसँग भेटवार्ता गर्ने आफ्नो कुनै योजना समेत नरहेको जानकारी गराएको थियो। तालिबानले यसै साता एक वक्तव्यमा काबुलको कुनै होटलमा विवाह वा अरु कुनै समारोहको पार्टीजस्तो यो कार्यक्रम नरहेको बताएको थियो।
तालिबान समूहले राष्ट्रपति घानीका मुख्य र जिम्मेवार पदाधिकारीसँग मात्र व्यक्तिगत हैसियतमा भेटवार्ता गर्न चाहेको स्पष्ट गरेको छ। वासिङ्टनस्थित विल्सन सेन्टरका विश्लेषक माइकल कुगलम्यानले पछिल्लो असमझदारीले शान्ति वार्ता र शान्ति प्रक्रिया दुबै जटिल मोडमा रहेको देखाएको बताए।
‘ससानो कुरामा त यति विवाद गरिन्छ भने समग्र शान्ति प्रक्रियाको सफलतामा रहेका जटिलताको पूर्वानुमान सहजै गर्न सकिन्छ’। उनले भनेका छन्। तर दोहामा आयोजना गर्ने भनिएको पछिल्लो दोहा सम्मेलनसँग तालिबान र अमेरिकी अधिकारीहरुबीचको वार्ताको कुनै सम्बन्ध छैन।
गत फेब्रुअरीमा सरकारमा सहभागी नरहेका अफगान राजनीतिज्ञहरुसँग तालिबान समूहले मस्कोमा छलफल गरिसके पनि उनीहरुले राष्ट्रपति घानी र उनको प्रशासनका पदाधिकारीहरुसँग भेटघाट गर्न निरन्तर अस्वीकार गरिरहेका छन्। उनीहरुले घानी र उनको सरकारलाई अमेरिकी कठपुतली सरकारको रुपमा हेर्ने गरेका छन्।
अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजादले तालिबान र अफगान पक्षबीचको वार्ता स्थगित भएकामा दुःखी भएको बताए। उनले ट्वीट गर्दै भनेका छन्, ‘हामी सबै पक्षसँग निकट सम्बन्धमा छौँ र वार्ताप्रति सबै पक्ष उत्तिकै प्रतिबद्ध हुनुको विकल्प छैन।’
तालिबान समूहले अफगानिस्तानको आधाभन्दा बढी भूभागमा कब्जा गरेको छ। सशस्त्र कार्यबाही तिब्र बनाएको तालिबान र इस्लामिक स्टेट्सका कारण गत वर्ष अफगानिस्तानमा सबैभन्दा ठूलो मानवीय हताहत भएको थियो । गत फेब्रुअरीमा अमेरिका–तालिबानबीच वार्ता भएपछि विशेषदूत खलिलजादले शान्ति सम्झौताको मस्यौदा संरचना नै तयार गरेका छन् तर यस मस्यौदामा सबैको सहमति हुन बाँकी छ। (रासस–एएफपी)