काठमाडौँ – फ्रान्सको राजधानी प्यारिसको नोट्र–डाम गिर्जाघरमा आगलागी हुनु केही मिनेटअघि सो प्राचीन गिर्जाघरबाहिर खिचिएको यो तस्बिरबारे सामाजिक सञ्जालमा व्यापक चर्चा भएको छ। तस्बिरमा सो ऐतिहासिक स्मारकबाहिर एक पुरुषले एक बालिकालाई उचालेर घुमाइरहेको र दुवै जना प्रसन्न मुद्रामा भएको देखिन्छ।
त्यतिखेर त्यहाँ पुगेकी २३ वर्षीया एक पर्यटक ब्रुक विन्डसरका अनुसार उनले त्यो तस्बिर गिर्जाघरमा आगलागी हुनुभन्दा करिब एक घण्टापहिले खिचेकी थिइन्। आगलागी भएपछि उनले ती दुई जना कहाँ होलान् भनेर उनले त्यो तस्बिर ट्विटरमा राखिदिइन्। उनको ट्वीट झन्डै हजारौँ पटक रिट्वीट भएको छ।
आशावादी
मिशिगन अमेरिकाबाट प्यारिस आएकी विन्डसरले बीबीसीलाई बताए अनुसार उनले अझै ती पुरुष र बालिकाको स्थिति थाहा पाउन सकेकी छैनन्। तर उनी दुवै जना कहाँ होलान् भनेर थाहा पाउनेमा आशावादी छन्।
उनले ती पुरुष र बालिका बाबुछोरी नै भएको आफूलाई पक्का नभएको बताएकी छन्। तर त्यो क्षणलाई हेर्दा उनीहरू बाबुछोरी जस्तो आफूलाई लागेको बताइन्।
मूकदर्शक
उनले ट्विटरमा सन्देश लेख्दै ती दुई जनाई फेला पार्न आफूलाई सहयोग गर्न सार्वजनिक आग्रह गरेकी थिइन्। उनले ती पुरुष पनि आगलागी भएपछि आफू जस्तै आहत भएको हुन सक्ने बताइन्।
विन्डसरका अनुसार आगलागी भएपछि उनले पनि हजारौँ मानिसहरूसँगै उभिएर त्यो दन्किएको हेरिरहिन्। उनले बीबीसीसित भनिन्, ‘हामीले प्यारिसबासीले जस्तै अत्यन्त स्तब्ध भएर कथिड्रल जलिरहेको दृश्य भएर र्हेयौँ।’ (वीवीसी)