काठमाडाैँ - क्वार्टरफाइनलमा म्यानचेस्टर युनाइटेडलाई हराउँदै चार पटकको विजेता बार्सिलोना (बार्सा) यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति घरेलु मैदानमा भएको क्वार्टरफाइनलको दोस्रो लेगमा युनाइटेड ३–० गोलअन्तरले पराजित भएको हो।
बार्साको जितमा कप्तान लियोनल मेसीले २ तथा फिलिपे काउटिन्होले १ गोल गरे। पहिलो लेगमा १ गोलको अग्रतासँगै बार्साले समग्रमा ४–० गोलको जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
लगातार १२औँ पटक क्वार्टरफाइनल खेलेको बार्साका लागि खेलको १५औँ मिनेटमा कप्तान लियोनल मेसीले गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए। उनले डि–बक्स बाहिरबाट दाँया खुट्टाले गरेको प्रहार गोलमा परिणत भएको थियो।
त्यसपछि पाहुना टोलीमाथि निरन्तर हाबी बनेको बार्साका लागि पुनः खेलको १९औँ कप्तान मेसीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। डि–बक्स बाहिरबाट मेसीले गरेको फितलो प्रहारले गोलकिपर डेभिड डेगाको गल्तिका कारण गोल लाइन क्रस गरको थियो।
पहिलो हाफमा २ गोलले अगाडि रहेको बार्साले दोस्रो हाफमा १ गोल थप्यो। ६०औँ मिनेटमा फिलिपे काउटिन्होले गोल गर्दै बार्साको जित सुनिश्चित गरे।
अन्तिम प्रि–क्वार्टरफाइनलमा बार्साले लियोनलाई पराजित गरको थियो भने युनाइटेडले पीएसजीलाई पाखा लगाएको थियो। सेमिफाइनलमा बार्साले गतसिजनको उपविजेता लिभरपुल र पोर्टोसँग खेल्ने छ।
घरेलु मैदानमा युभेन्ट्स स्तब्ध, आयाक्स सेमिफाइनलमा
त्यस्तै मंगलबार राति नै सम्पन्न अर्को क्वार्टरफाइनलमा युभेन्ट्सलाई उसकै घरेलु मैदानमा स्तब्ध पार्दै डच क्लब आयाक्स सेमिफाइनलमा प्रवेश गरको छ। घरेलु मैदानमा भएको पहिलो लेगमा युभेन्ट्सलाई १–१ गोलको बराबरीमा रोकेको आयाक्सले युभेन्ट्सकै मैदानमा २–१ को संघर्षपूर्ण जित निकाल्यो।
खेलको २८औँ मिनेटमा पोर्चुगिस फरवार्ड क्रिस्टियानो रोनाल्डोको गोलबाट लिएको शुरुआती अग्रता जोगाउन नसक्दा घरेलु टोली युभेन्ट्स पराजित भएको हो। शुरुआतदेखि नै आक्रामक शैलीमा मैदानमा उत्रिएको आयाक्स गोल खाएको ६ मिनेटमै खेलमा फर्कियो। मोरक्कोका मिडफिल्डर हाकिम जियाचको पासलाई भ्यान डि बिकले गोलमा परिणत गर्दै पाहुना टोली आयाक्सलाई खेलमा फर्काएका थिए।
खेलको पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो। दोस्रो हाफमा काउन्टर अट्याकलाई सशक्त हतियार बनाएको आयाक्सले ६७औँ मिनेटमा २–१ को अग्रता बनायो। आफ्नै मैदानमा सम्हालिन नसकेको युभेन्ट्स त्यसपछि आयाक्सको रक्षापंती छिचोल्न नसक्दा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
प्रि–क्वार्टरफाइनलमा आयाक्सले लगातार ३ पटकको विजेता रियल मड्रिडलाई तथा युभेन्ट्सले एथ्लेटिको मड्रिडलाई पराजित गरको थियो। सेमिफाइनलमा आयाक्सले म्यानचेस्टर सिटी र टोटनह्यामको विजेतासँग खेल्ने छ। युरोपियन फुटबलमा २०औँ शताब्दीको सफल क्लब आयाक्सले यो प्रतियोगिता ४ पकट जितेको छ। आयाक्स लगातार ३ पटक च्याम्पियन्स लिग जित्ने पहिलो क्लब हो। सन् १९७० देखि १९७३ सम्मलगातार च्याम्पियन्स लिगमा राज गरेको आयाक्सले १९९५ मा अन्तिम पटक जितेको थियो।