एजेन्सी - अफगानिस्तानको लाघमान प्रान्तको मिहतार्लाम शहरको बाहिरी इलाकामा आइतबार साँझ एक बेबारिसे बम विस्फोटमा परी घर बाहिर खेलिरहेका ७ जना बालबालिकाको ज्यान गएको छ।
यस विस्फोटबाट अरु धेरै व्यक्ति घाइते भएको टोलो न्यूजले जनाएको छ। प्रान्तीय गभर्नर असादुल्लाह दवलतजाईले यस घटनाको पुष्टि गरेका छन्। अफगानिस्तानमा बारुदी सुरुङ आक्रमणमा परी हरेक महिना कम्तीमा १ सय ७ जनाको मृत्यु हुने गरेको एक सरकारी तथ्याङ्कमा उल्लेख छ।
अफगानिस्तानका ३ हजार ४ सय वर्ग किलोमिटर क्षेत्रमा बिछ्याइएका विस्फोट पदार्थलाई निस्तेज बनाइएको छ, तर अर्को १ हजार ७ सय वर्गकिलोमिटर क्षेत्रमा भूमिगत बारुदी सुरुङ सफा गर्न बाँकी रहेको सरकारी अधिकारीले जानकारी दिएका छन्।