काठमाडौँ - वर्ष २०७५ बित्यो। कुद्दै, लड्दै, भिड्दै, उचाल्दै अनि पछार्दै, कोही ब्याट बोकेर दगुर्दै, कोही बल पछाडि दगुर्दै त कोही झण्डा बोकर। खेलाडीहरुले संघर्षको १ एक वर्ष यसैगरी बिताए। कसैले ऐतिहासिक सफलता हासिल गरे, राष्ट्रिय अन्तर्राष्ट्रिय कीर्तिमान पनि बनाए। खेलाडी अनि खेलसँग जोडिएर बितेको वर्ष २०७५ मा खेल क्षेत्रमा उदाएका ५ चम्किला ताराहरुलाई यसरी सूचीकृत गर्न सकिन्छ।
सन्दीप लामिछाने
पछिल्ला वर्षहरुबाटै चर्चामा रहेका भए पनि सन्दीप लामिछानेले २०७५ वर्षभरीमा अथाह सफलता हासिल गरे। सन् २०१६ मा भएको विश्व क्रिकेट लिग च्याम्पियनशिपबाट राष्ट्रिय क्रिकेट टोलीमा प्रवेश गरेका सन्दीप हाल राष्ट्रिय टोलीका प्रमुख बलर भइसकेका छन्। अहिले विश्वको सर्वाधिक लोकप्रिय तथा ठूलो फ्रेन्चाइजी टी–२० क्रिकेट लिग आईपीएल खेलिरहेका सन्दीपका लागि २०७५ वर्ष पूर्ण रुपमा व्यस्त रह्यो। आईपीएल खेल्ने पहिलो नेपाली खेलाडीको रुपमा वर्षको शुरुआत गरेका सन्दीप लगातार दोस्रो वर्ष आईपीएल खेलिरहेका छन्। पहिलो आईपीएलदेखि दोस्रो आईपीएलसम्म आइपुग्दा सन्दीपले विश्व प्रसिद्ध टी–२० लिगमा उत्कृष्ट प्रदर्शन गरे। एकपछि अर्को गर्दै क्यारेवियन लिग, अफगानिस्तान प्रिमियर लिग, अस्ट्रेलियन बिग बास लिग, बंगलादेश प्रिमियर लिग र पाकिस्तान प्रिमियर लिग खेलेका सन्दीपले २०१८ का युवा वर्ष खेलाडी को अवार्ड पनि जिते।
अजितकुमार यादव
हङकङमा भएको तेस्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनशिपमा स्वर्ण जितेर नेपाली जुनियर खेलाडी अजितकुमार यादवले सनसनी मच्चाए। १२ राष्ट्रका १५ खेलाडीलाई पछाडि पार्दै अजितले नेपालका लागि पहिलो एसिया स्तरको मेडल जिते। सप्तरीको राजविराज निवासी अजितले निर्धारित दूरी ८ मिनेट ३० दशमलव ३२ सेकेन्डमा पूरा गरे।
४५ वर्षअघि सन् १९७३मा फिलिपिन्सको मनिलामा भएको एसियाली ट्रयाक एन्ड फिल्ड च्याम्पियनशिपमा जीतबहादुर केसीले म्याराथनमा कास्य जितेपछि पदककाे खडेरी लागेको नेपाली खेल क्षेत्रले ४६औँ वर्षमा अजितमार्फत यस्ताे उपलब्धि हासिल गर्याे। उनी राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा हालसम्मकै १ खेलमा मात्र पदकविहीन रहेका छन्। त्यस्तै प्रतिस्पर्धा गरेका प्रतियोगितामध्ये १ खेलमा तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भएका उनको अन्य खेलमा शतप्रतिशत विजय रहेको छ।
रोहित कुमार पौडेल
सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २४ वर्षपछि नेपालले एकदिवसीय क्रिकेट श्रृंखला जित्यो। सोही क्रममा केही नेपाली युवा खेलाडीहरुको प्रदर्शनले विश्व क्रिकेट जगतलाई आश्चर्य चकित बनायो। त्यसै सूचीमा रहेको नाम रोहित कुमार पौडेल पनि हो। यूएईविरुद्धको एकदिवसीय क्रिकेट श्रृंखलामा नेपालका उदाउँदा किशोर खेलाडी रोहितले विश्व क्रिकेटका दुई अब्बल खेलाडी भारतका सचिन तेन्दुलकर र पाकिस्तानका शाहीद अफ्रिदीको कीर्तिमान तोड्दै विश्व क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडी बने। परिपक्व खेल प्रस्तुत गरेर राष्ट्रिय टोलीको मध्यक्रममा आफ्नो स्थान बनाइसकेका रोहित पौडेलले ५८ बलमा ५५ रन बनाउँदा उनको उमेर केवल १६ वर्ष १ सय ४६ दिन पुगेको थियो।
यसअघि भारतका सचिन तेन्दुलकरले १६ वर्ष २१३ दिनमा ५९ रन बनाइ सानो उमेरमा अर्धशतकको कीर्तिमान रचेका थिए। रोहित हाल यू–१ ९ क्रिकेट टोलीका कप्तान रहेका छन्।
सन्दीप जोरा
‘बलिङ राम्रो भए पनि ब्याटिङ नेपालको झुर छ’ यस्तै सुनिन्थो जब कोही क्रिकेटप्रेमीले नेपाली क्रिकेटको चर्चा गर्थ्याे। तर, २०७५ सालदेखि नेपाली क्रिकेटलाई यो आरोेप बाट उन्मुक्ति पाएको अनुभूती गर्न सकिन्छ। जसका कारण हुन् सन्दीप जोरा जस्ता प्रतिभावान ब्याट्सम्यान। यूएईमा सम्पन्न टी–२० र एकदिवसीय क्रिकेट श्रृंखला जिताउन नेपाली उदियमान खेलाडीले उत्कृष्ट खेल प्रस्तुत गरे। १७ वर्ष १ सय ३ दिनको उमेरमा डेब्युमा अविजित ५३ रन बनाएपछि टी–२० अन्तर्राष्ट्रिय खेलमा अर्धशतक बनाउने जोरा सबैभन्दा कान्छा खेलाडी बने। क्यारेबियन क्रिकेटर क्रिस गेलको ढाँचामा आक्रामक ब्याटिङ गर्ने सन्दीप जोरा प्रतिभावान् र आशातीत खेलाडी बनेका छन्।
सावित्रा भण्डारी
सन् २०१९ मा भारतमा आयोजना भएको २०१९ हिरो महिला गोल्डकपका दौरानमा नेपालले इतिहासमै पहिलोपटक भारतलाई हरायो। नेपालको एकलौटी २-० गोलको जीतमा दुवै गोल गरेर चर्चाको शिखरमा पुगेकी सावित्रा भण्डारी नेपाली फुटबलमा चर्चाकाे हो। नेपाली राष्ट्रिय महिला टिमकी प्रमुख स्ट्राइकर रहेकी सावित्रा उक्त प्रतियोगितामा सर्वाधिक गोलकर्ता बनिन्। गोल मेसिनको छवि बनाएकी सावित्रा २६ अन्तर्राष्ट्रिय गोलसँगै राष्ट्रिय महिला फुटबल टिमका लागि सर्वाधिक गोल गर्ने खेलाडीका रुपमा दोस्रो स्थानमा रहेकी छन्। उनले २०२० ओलम्पिक छनोटको पहिलोबाट नेपाललाई दोस्रो चरणमा पुर्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेकी थिइन्। पछिल्लो पटक विराटनगरमा सम्पन्न साफ महिला च्याम्पियनशिपमा सर्वाधिक गोलकर्ता बनेकी सावित्रा भण्डारीको नाम २०७५ मा चर्चित खेलाडीमध्येको एक हो।