काठमाडौँ - नयाँ वर्ष २०७६ लागेसँगै हर्ष, उल्लास र नयाँ योजनासहित सबै खेलाडीहरु नयाँ अवसरको पर्खाइमा छन्। खेलकुदसँग जोडेर हेर्ने हो भने बितेको वर्ष २०७५ विभिन्न उपलब्धिका कारण सुखद रह्यो। केही खेलाडीले विश्व कीर्तिमानसम्म बनाए। नेपालले पनि अन्तर्राष्ट्रियस्तरका विभिन्न खेलको माध्यमबाट आफूलाई चिनाउने अवसर पायो। यसरी फर्केर विगतको १ वर्षलाई नियाल्दा नेपाली खेल क्षेत्र र केही खेलाडीले हासिल गरेका प्रमुख उपलब्धिलाई यसरी समेट्न सकिन्छ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज
सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २३ वर्षपछि एकदिवसीय मान्यता प्राप्त गर्न नेपाल सफल भएको थियो। यूएईकै घरेलु मैदानमा सम्पन्न यूएईविरुद्धको तेस्रो एकदिवसीय श्रृङ्खला २–१ ले आफ्नो पक्षमा पार्यो। उक्त खेलमा नेपाली कप्तान पारस खड्का ले ११५ रनको कप्तानी इनिङ खेले। उनले १०९ बलमा १५ चौका र १ छक्का प्रहार गरेका थिए। सोही क्रममा रोहित पौडेल एकदिवसीय क्रिकेटमा अर्धशतक प्रहार गर्ने कान्छो खेलाडी बने। एकदिवसीय श्रृङ्खला खेलेसँगै नेपाल एकदिवसीय वरियतामा पनि समावेश भयो।
ऐतिहासिक टी-२० सिरिज
२०७५ मा क्रिकेटमा ठूलै छलाङ मार्यो। त्यसमा पनि यूएई भ्रमणमा क्रममा नेपालले ऐतिहासिक उपलब्धी हासिल गर्यो। यूएईलाई घरेलु मैदानमा पराजित गर्दै टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खला २–१ ले जित्यो। सोही क्रममा सन्दीप जोराले टी–२० मा सानो उमेरमा अर्धशतक बनाउने कीर्तिमान बनाए।
भारतविरुद्ध महिला फुटबलमा नेपालको ऐतिहासिक जीत
भारतको उडिसामा सम्पन्न हिरो गोल्डकप महिला फुटबल प्रतियोगितामा नेपालको राष्ट्रिय महिला फुटबल टोलीले भारतलाई १ का विरुद्ध २ गोलले पराजित गर्यो। उक्त खेलमा नेपालको तर्फबाट दुवै गोल गोलमेसिन सावित्रा भण्डारीले गरेकी थिइन्। सदैब विजयी यात्रामा बाधक बन्दै आएको भारतीय महिला टोलीमाथि नेपालको यो पहिलो जीत रह्यो।
४५ वर्षपछि एसियास्तरको स्वर्ण
हङकङमा भएको तेस्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनशिपमा नेपालका अजितकुमार यादवले स्वर्ण जिते। अजितसहित १२ राष्ट्रका १५ खेलाडी उक्त स्पर्धामा दौडेका थिए। सप्तरीको राजविराज निवासी अजितले निर्धारित दूरी आठ मिनेट ३० दशमलव ३२ सेकेन्डमा पूरा गर्दै नेपाललाई ऐतिहासिक स्वर्ण जिताए।
कुनै पनि एसियाली स्तरको एथलेटिक्समा नेपाली खेलाडीले जितेको यो पहिलो स्वर्ण हो। समग्रमा भने दोस्रो पदक हो। ४५ वर्षअघि सन् १९७३मा फिलिपिन्सको मनिलामा भएको एसियाली ट्रयाक एन्ड फिल्ड च्याम्पियनशिपमा जीतबहादुर केसीले म्याराथनमा कास्य जितेका थिए। त्यो कास्य अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले जितेको पहिलो पदक पनि हो।
बडिविल्डिङमा नेपाललाई ऐतिहासिक सफलता
थाइल्यान्डमा आयोजित १०औँ विश्वव्यापी शारीरिक सुगठन प्रतियोगितामा नेपालले स्वर्णपदक जित्यो। ७५ केजी तौल समूहमा महेश्वर महर्जनले जितेको स्वर्ण शारीरिक सुगठनमा नेपालको अहिले सम्मकै ठूलो अन्तर्राष्ट्रिय सफलता हो। १२ राष्ट्रका बडीविल्डरहरु प्रतिस्पर्धामा रहेको समूहबाट उत्कृष्ट ५ को छनोट गरिएको थियो। आफूसँगै उत्कृष्ट ५ मा परेका भारत, सिंगापुर, थाइल्यान्ड, उज्जेकिस्तानका बडीविल्डरहरुलाई पछिपार्दै महेश्वर नेपालका लागि ऐतिहासिक स्वर्ण जित्न सफल भए।