काठमाडाैँ - पछिल्लोपल्टको फिफा बरियतामा एसियाको शीर्ष ३४औँ स्थानमा रहेपछि नेपाली राष्ट्रिय फुटबल टिमले विश्वकप २०२२ छनोटमा सीधै दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने भएको छ।
सन् १९८६ को संस्करणबाट विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न थालेको नेपालले पहिलोपल्ट ‘बाई’ पाएर सीधै दोस्रो चरणमा खेल्ने अवसर पाएको हो। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले पछिल्लोपल्ट ४ अप्रिल, २०१९ मा जारी गरेको बरियतामा नेपाली पुरुष टिम १ सय ६१औँ स्थानमा रहेको थियो, जुन एसियाली बरियतामा ३४औँ स्थान हो।
एसियाली फुटबल महासंघ (एएफसी)का अनुसार एसियाली बरियताका शीर्ष ३४ टिमले छनोटको दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने जनाएको छ। त्यसैअनुसार नेपालले विश्वकप छनोटमा पहिलोपल्ट सीधै दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने मौका पाएको छ। बरियतामा पुछारका १२ टिम (३५-४६औँ) प्ले-अफबाट गुज्रिनेछन्।
नेपालले विश्वकप छनोटमा प्रवेश गरेको ३३ वर्षे इतिहासमा सन् २०१४ को संस्करणमा मात्र प्रारम्भिक चरण पार गरेर दोस्रो चरण खेलेको थियो। दशरथ रंगशालामा भएको प्ले-अफमा टिमोर लेस्टेलाई २-१ र ५-० ले पराजित गरेको नेपाली टिम त्यसबेला दोस्रो चरणमा जोर्डनविरुद्ध पराजित भएको थियो।
९-० ले स्तब्ध भएको ५ दिनभित्रै नेपालले भरत खवासको आकर्षक गोलसँगै घरेलु मैदानमा भएको दोस्रो लेगमा जोर्डनलाई १-१ मा रोकेको थियो।