बाँके - आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपालगञ्जमा सम्पन्न पुरुष हक्की प्रतियोगितामा नेपाल पुलिस क्लबसँग गण्डकी प्रदेश स्तब्ध भएको छ। बिहीबार बिहान भएको पहिलो खेलमा नेपाल पुलिस क्लब ५-० गोलले विजयी भएको हो।
गण्डकी प्रदेशलाई प्रतियोगिता अवधिभर दबाबमा राखेको नेपाल पुलिसका तर्फबाट पाँचै गोल जर्सी नम्बर १० का खेलाडी रोमन राणाले गरे। उनले खेलको १०औँ, १२औँ, ३८औँ, ४५औँ र ५५औँ मिनेटमा गोल गरेको हक्कीका मुख्य प्रशिक्षक विजयन्त शर्मा (पिन्टु) ले जानकारी दिए।
प्रतियोगितामा नेपाल पुलिस क्लबले धेरै पेनाल्टी कर्नर पाए पनि अवसरलाई सदुपयोग गर्न सकेन। पुलिसले ७ र गण्डकी प्रदेशले दुई पेनाल्टी कर्नर पाएको पिन्टुले बताए। पुलिस क्लबमा ५ नम्बर प्रदेशको तर्फबाट खेलिसकेका सात जना खेलाडी समावेश रहेका छन्।
त्यस्तै, दोस्रो खेलमा नेपाल आर्मी प्रदेश नम्बर २ विरुद्ध १-० को अन्तरले विजयी भएको हो। आर्मीका तर्फबाट १० नम्बर जर्सीका खेलाडी राम शाहले ५६ मिनेटमा गोल गरी टिमलाई विजयी बनाएका हुन्। गोललाई मान्यता दिने विषयमा विवाद भएपछि प्रदेश २ खेलबाट बाहिरिएको थियो।
खेलमा आर्मीले ८ वटा कर्नर पेलान्टीको अवसर पाएको थियो। बिहीबारको तेस्रो खेल अपरान्ह ४ बजेपछि कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुने छ।