सिड्नी – अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले मे १८ मा संसदको चुनाव गरिने बिहीबार घोषणा गरेका छन्। यस पटकको निर्वाचनमा सत्तारुढ दलले तेस्रो कार्यकालका लागि प्रयत्न गर्नेछ।
सङ्घर्षरत वर्तमान प्रधानमन्त्री मरिसनले चुनाव जित्न निकै मिहिनेत गर्नुपर्ने मतसर्वेक्षणहरुले देखाएका छन्। अस्ट्रेलियाको चुनाव सामान्यतया दुई पार्टीबीच निकै प्रतिस्पर्धी हुने गरेको छ। मत सर्वेक्षणहरुमा लिबरल पार्टीका नेता स्कट मरिसन र लेबर पार्टीका नेता बिल शोर्टेन दुबैको स्वीकार्य दर कम देखिएको छ।
दुबै नेताले आमजनतालाई आफूतर्फ आकर्षित गर्न प्रयास गरिरहेका छन्। मरिसन करिब एक वर्षअघि लिबरल पार्टीभित्र विद्रोह गरी प्रधानमन्त्री पदमा पुगेका हुन्। पार्टीका नरमपन्थी र राष्ट्रवादीहरुबीचको विभाजनलाई मत्थर बनाउनु पनि मरिसनका लागि अर्को चुनौती हो।
उनले चुनावी प्रचारका क्रममा यो विभाजनलाई रोक्न प्रयास गरेको देखिएको छ। ‘हामी विश्वकै सबैभन्दा राम्रो देशमा बसोबास गरिरहेका छौँ,’ मरिसनले क्यानबेरामा आयोजित समारोहमा चुनावको घोषणा गर्दै भने, ‘हाम्रो भविष्य बलियो अर्थतन्त्रमै टिक्नेछ।’
गत साता मरिसनको अल्पमतको सरकारले मतदातालाई प्रभावित तुल्याउन कर कटौतीको प्रस्ताव अघि सारेको थियो। लेबर पार्टी विजयी भएमा करका दर बढ्ने र आर्थिक वृद्धि कम हुने प्रधानमन्त्री मरिसन र उनको दलले आरोप लगाउँदै आएको छ। (रासस–एएफपी)