काठमाडौँ - युएफा च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति सम्पन्न क्वार्टरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोना विजयी भएको छ। इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडविरुद्ध भएको खेलमा बार्साले १-० को संघर्षपूर्ण जीत निकाल्यो।
म्यानचेस्टरस्थित युनाइटेडको घरेलु मैदान ओल्ड ट्रार्फोडमा भएको खेलको १२औँ मिनेटमा बार्साले अग्रता लिएको थियो। बार्साका लुइस स्वारेजले प्रहार गरेको हेडर युनाइटेडका लुकी शहलाई लागेर भएको आत्मघाती गोलमा युनाइटेड पछाडी परेको थियो।
खेलको निर्धारित समयसम्म निरन्तर गोलका लागि प्रयास गरे पनि युनाइटेड सफल हुन सकेन। त्यस्तै पटक-पटक दोस्रो गोलको नजिक पुगेको बार्सिलोनाले पनि अग्रता बढाउन सकेन। प्रि-क्वार्टरफाइनलमा फ्रेन्च ह्याभिवेट पीएसजीलाई पराजित गरेको युनाइटेडको सेमिफाइनल यात्रामा चुनौती थपिएको छ।
अवे मैदानमा १-० गोलका अग्रता लिएको बार्सिलोना च्याम्पियन्स लिगका पछिल्ला ३० होम गेममा अपराजित रहेको छ। त्यस कारण पनि अप्रिल १७ तारिखमा क्याम्प नउमा हुने खेलमा म्यानचेस्टर युनाइटेड दबाबमा हुनेछ।
३ पटकको विजेता म्यानचेस्टर युनाइटेडले २००८ मा पछिल्लो पटक यो उपाधि उचालेको थियो। त्यस्तै ४ पटकको विजेता बार्साले २०१५ मा युभेन्ट्सलाई हराएर अन्तिम पटक यो उपाधि उचालको थियो।
क्वार्टरफाइनलकै अर्को खेलमा डच क्लब आयाक्स र इटालियन क्लब युभेन्टसले १-१ गोलको बराबरी खेलेका छन्। युभेन्टसका लागि ४५औँ मिनेटमा उत्कृष्ट हेडरमार्फत गोल गर्दै स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले शुरूआति अग्रता दिलाएका थिए।
पहिलो हाफको अन्तिम मिनेटमा पछाडि परेको आयाक्सका डेभिड नेरेसले दोस्रो हाफ शुरु भएको ३३ सेकेन्डमा गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगाए।
यी दुईबीचको दोस्रो लेगको खेल पनि अप्रिल १७ मा युभेन्ट्सको घरेलु मैदानमा हुनेछ।