सुर्खेत - कर्णाली प्रिमियर लिग (केपीएल) मा ८ टिमले सहभागिता जनाउने भएका छन्। आयोजक कर्णाली किक्रेट एकेडेमीले मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा आगामी वैशाखमा हुने दोस्रो संस्करणको प्रतियोगितामा सहभागी हुने ८ टिमको नाम सार्वजनिक गरेको हो।
३ विभागिय टीमसहित देशका विभिन्न शहरका अन्य ५ प्रतिष्ठित क्लबहरुको सहभागिता रहने एकेडेमीका अध्यक्ष जीवन शाहीले जानकारी दिए। प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, सशस्त्र प्रहरीको एपीएफले सहभागीता जनाउने भएका छन्।
त्यस्तै कर्णाली किक्रेट एकेडेमी, महेन्द्रनगर क्रिकेट एकेडमी कञ्चनपुर, लालीगुराँस क्रिकेट एकेडमी झापा, मध्यपश्चिम क्रिकेट बाँके, र हिमालयन क्रिकेट एकेडमी काठमाडौको सहभागिता रहने आयोजकको भनाइ छ।
अहिले प्रतियोगिता सञ्चालनको लागि स्थानीय कालुन्चोक किक्रेट मैदानको काम भईरहेको अध्यक्ष शाहीले जानकारी दिए। उनले केन्द्र, प्रदेश र जिल्लास्तरका कुनैपनि खेलकुद निकायबाट सहयोग प्राप्त नभए पनि विभिन्न दाताहरुको सहयोगबाट मैदान निर्माण कार्य सुचारु रहेको बताए।
उनका अनुसार मैदानको स्तर उन्नतीको लागि मैदान सम्माउने, पिच र बाउन्ड्रीको लेभल मिलाउने लगायतको काम भईरहेको छ। आउँदो वैशाख १२ गतेदेखि २१ गतेसम्म प्रतियोजिता सञ्चालन हुनेछ। गत संस्करणमा केपीएलको विजेताले ३ लाख प्राप्त गरेको थियो भने दोस्रो संस्करणको पुरस्कार र ट्रफी केही दिनमा घोषणा हुने आयोजकको भनाइ छ।