काठमाडाैँ - च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलको पहिलो लेगका खेल शुरू भएका छन्। सोहीअन्तगर्गत मंगलबार राति सम्पन्न खेलमा म्यान्चेस्टर सिटीविरुद्ध टोटनह्याम विजयी भएकाे छ। टाेटनह्यामको घरेलु मैदान ह्वाइट हार्ट लेनमा भएकाे खेलमा पाहुना टोली सिटी १-० गोलको झिनो अन्तरले पराजित भएको हो।
टोटेनह्यामका लागि सन ह्युङ मिनले खेलको ७८औँ मिनेटमा गरेकाे एक मात्र गोल निर्णायक बन्याे। खेलको शुरूआती समयमै राहिम स्टर्लिङको प्रहार टोटनह्यामका ड्यानी रोसीको हातमा लागेपछि पाएको पेनाल्टीमा सिटीका सर्जियो अग्वेरो चुकेका थिए।
दोस्रो लेगको खेल सिटीको घरेलु मैदान ईतिहाद स्टेडियममा अप्रिल १८ तारिखमा हुनेछ।
त्यस्तै मंगलबार राति नै सम्पन्न अर्को खेलमा लिभरपुल विजयी भएको छ। पोर्चुगिस क्लब पोर्टोविरुद्ध घरेलु मैदानमा भएकाे खेलमा लिभरपुल २-० गाेलअन्तरले विजयी भएकाे छ। खेलको पाँचाैँ मिनेटमा नेबी केइटाको गोलबाट लिभरपुलले शुरूआती अग्रता लिएकाे थियो।
त्यसको २१ मिनेटपछि रोबर्टो फिर्मिनोले गोल गर्दै गत सिजनको उपविजेता लिभरपुलको अग्रता दोब्बर पारे। पहिलो हाफमा २-० गोलको अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा सोही अग्रता बचाउँदै नतिजा आफ्नो पक्षमा पार्यो।
यी दुईबीचको दोस्रो लेगको खेल पोर्टोको मैदानमा अप्रिल १८ तारिखमा हुनेछ।