आदिस अबाबा – अफ्रिकी मुलुक इथियोपियामा सन् २०१९ मा ८८ लाखभन्दा बढी नागरिकलाई मानवीय सहायताको खाँचो रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ।
संयुक्त राष्ट्रसंघीय मानवीय सहायता मामिलासम्बन्धी कार्यालय (युएनओसिएचए) ले दिएको जानकारी अनुसार खाद्यान्नका अलावा कुपोषणको समस्याबाट पीडित यहाँका नागरिकलाई दैनिक खाना, पोषण तथा खानेपानी लगायतको ठूलो अभाव छ। यसबाट खासगरी बालबालिका र किशोरहरु सबैभन्दा बढी पीडित भइरहेका छन्।
इथियोपियामा विगत लामो समयदेखि जारी युद्ध र सुक्खाजस्ता विभिन्न समस्याका कारण ती नागरिकमा आधारभूत खाद्यान्न लगायतका सामग्री आवश्यक रहेको अधिकारीहरुको भनाई छ।
यहाँ लामो समयदेखि जारी द्वन्द्व, जलवायु परिवर्तका कारण उत्पन्न सुक्खा र खडेरी लगायतका विभिन्न समस्याका कारण खाद्यान्नको उत्पादनमा नै असर परेको छ। यही कारण धेरै मानिस प्रभावित भएका र उनीहरुलाई खाना र राम्रो खानेपानीकै समस्या रहेको राष्ट्रसंघको भनाइ छ।
अघिल्लो महिना मात्र पनि इथियोपियाको सरकार, राष्ट्रसंघीय निकाय र अन्य विकास साझेदारहरुले गरेको एक अध्ययनमा पनि यहाँका करिब ८३ लाख मानिसलाई सन् २०१९ मा खाद्यान्न र अन्य वस्तुहरुको आपूर्तिका लागि कम्तीमा पनि एक अर्ब ३० करोड अमेरिकी डलरको खाँचो रहेको जनाएका थिए।
जलवायु परिवर्तनका कारण उत्पन्न खडेरी र द्वद्वबाट प्रभावित लाखौँ मानिस आन्तरिक रुपमा विस्थापित भएका छन्। (रासस-सिन्ह्वा)