काठमाडौँ - इन्डियन प्रिमियर लिग (आईपीएलमा)मा आइतबार दुई खेल हुँदैछन्। दिउँसो ४ बजे हुने पहिलो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोली दिल्ली क्यापिटल र दबाबमा रहेका भारतीय कप्तान विराट कोहली नेतृत्वको रोयल च्यालेन्जर्स बैंगलोर आमनेसामने हुँदैछन्।
यसअघि भएका पाँचै खेलमा बैंगलोर पराजित भएको छ भने दिल्लीले पाँचमध्ये ३ मा जीत र २ मा हार बेहोरेको छ। आज चिन्नास्वामी स्टेडियममा हुने खेलमा दुवै टोली जीतको खोजीमा हुनेछन्।
लगातार हारको सामना गरिरहेको बैंगलोर दिल्लीसँग खेल्दा घरेलु सर्मथकको साथमा हुनेछ। अघिल्लो खेलमा बैंगलोर उत्कृष्ट योगफल खडा गरेर पनि काेलकातासँग नराम्रोसँग पराजित भएको थियो।
सो हारपछि क्रिकबुजका विश्लेषक सागर चावलाले विराट कोहलीको मजाक बनाउँदै भनेका छन्, ‘बैंगलोर साँच्चै भाग्यमानी हो। किनकी आईपीएलमा दोस्रो डिभिजन लिग छैन। जसका कारण उनीहरू रेलिगेसनमा पर्ने डर छैन।’
अंकतालिकाको अन्तिममा रहेको बैंगलोरका ए बी डी विलियर्सले पछिल्लो खेलमा काेलकाता नाइट राइडर्सविरुद्ध ३२ बलमा ६३ रन जोडेका थिए। ‘मिस्टर थ्री सिक्स्टी हिटर’ उपनामले परिचित उनी दक्षिण अफ्रिकाका पूर्वकप्तान हुन्।
स्वाभाविक हिसाबले पहिलो जीतको खोजीमा रहेको बैंगलोरविरुद्ध दिल्ली खेलमा बढी दबाबमा हुने अनुमान गर्न सकिन्छ। यसअघिका दुई खेलमा हार बेहोरेको दिल्लीका ओपनर ब्याट्सम्यान पृथ्वी शहको प्रदर्शन आजको खेलमा महत्त्वपूर्ण हुनेछ। उनले अघिल्ला दुई खेलमा कमजोर प्रदर्शन गर्दा अरू खेलडीलाई दबाब परेको प्रस्ट देखिन्थ्यो।
दिल्लीलाई धेरै रन जोड्नका लागि ओपनिङ ब्याट्सम्यानको प्रभावशाली शुरुआत आवश्यक हुनेछ। जसको फाइदा त्यसपछिका ब्याट्सम्यान कप्तान श्रेयस अयर, रिसभ पन्त, शिखर धवन, कोलिन इनग्रामजस्ता ब्याट्सम्यान रहेको दिल्ली पहिले ब्याटिङ गर्छ भने २ सय रनभन्दा बढीको योगफल तयार गर्न चाहन्छ।
सन्दीप टिममा पर्ने सम्भावना
खेल शुरु हुन १५ मिनेट बाँकी हुँदा हुने टसमा पनि नेपाली क्रिकेट खेलाडीहरूको विशेष ध्यान रहनेछ। पछिल्ला ३ खेलमा मौका पाएका सन्दीपले हैदरावादविरुद्ध ४ ओभर बलिङ गर्दै ३२ रन खर्चेर १ विकेट लिएका थिए। अघिल्ला २ खेलको तुलनामा इकोनोमी घटेका कारण आजको खेलमा उनले स्थान पाउँछन् भन्ने निश्चित छैन।
यद्यपि, बैंगलोरका मुख्य ब्याट्सम्यान ए बी डिभिलियर्स स्पिनरविरुद्ध खुलेर खेल्न नसक्ने र विराट कोहली पनि सर्वाधिक गुग्लीको शिकार हुने गरेकाले उनको सम्भावना देखिन्छ। आईपीएल २०१८ मा पनि एबडी र कोहलीविरुद्ध सन्दीपले उत्कृष्ट बलिङ गरेका थिए। विश्वका सर्वाधिक टी-२० लिगहरुमा खेलिसकेका सन्दीप २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर हुन्।