काठमाडौँ - भारतसँग पराजित हुँदै नेपाली महिला टोली म्यानमारमा जारी ओलम्पिक महिला फुटबल छनोटको समूह चरणबाटै बाहिरिएको छ। शनिबार भएको खेलमा भारतसँग ३-१ नेपालले पराजित भएपछि लगातार दोस्रो हार व्यहोरेको नेपालको २०२० ओलम्पिकको सपना शुरुआती चरणमै टुटेकेो हो।
मण्डलारथिरी स्टेडियममा भएको खेलमा भारतका लागि सन्ध्या र अशलता देवीले एक एक गोल गरे। त्यस्तै नेपालकी पुनम जर्घा मगरले आत्मघाती १ गोल गरिन्। नेपालका लागि कप्तान निरू थापाले १ गोल फर्काइन्।
पहिलो हाफको खेल १-१ गोलको बराबरी टुंगिए पनि दोस्रो हाफमा सम्हालिन नसक्दा पराजय भोग्नु परेको हो। खेलको छैटौँ मिनेटमा पुनमको गोलमार्फत भारतले शुरुआती अग्रता बनाएको थियो। तर, सातौँ मिनेटमा नेपालकी कप्तान निरु थापाले गोल गर्दै खेल नेपाललाई खेलमा फर्काएकी थिइन्।
दोस्रो हाफमा आक्रामक देखिएको भारतका लागि खेलको ६०औँ मिनेटमा सन्ध्याले गोल गर्दै अग्रता २-१ को बनाएकी थिइन्। खेलको ७८औँ मिनेटमा कप्तान आशालता देवीले पेनाल्टीमा गोल गर्दै भारतका लागि ३-१ गोलको जीत सुनिश्चित गरिन्।
जितसंगै भारतले ओलम्पिक छनोटको तेस्रो चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ। भारतले २ खेलबाट ६ अंक जोडेको छ।नेपालले आफ्नो अन्तिम खेलमा मंगलबार इन्डोनेसियाको सामना गर्नेछन।