काठमाडौँ - युवा तथा खेलकुद मन्त्रालयको आयोजना एवम् राष्ट्रिय खेलकुद परिषद्को समन्वयन तथा मदन भण्डारी स्पोर्टस एकेडेमीको सहयोगमा सोह्र वर्षमुनिको प्रदेशस्तरीय विद्यालय क्रिकेट प्रतियोगिता मङ्गलबारदेखि हुने भएको छ।
यही चैत २५ गतेसम्म चल्ने उक्त प्रतियोगिताका खेल किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए।
प्रतियोगितामा सात प्रदेश सहभागी छन् जसलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा प्रदेश ३, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेश छन्। त्यस्तै समूह बी मा सुदूरपश्चिम प्रदेश, प्रदेश २ र प्रदेश १ छन्। दुवै समूहको शिर्ष स्थानमा रहने दुई टोलीले सेमिफाइलनमा प्रवेश गर्नेछन्।
उक्त प्रतियोगिताको विजेता टोलीले रु एक लाख ५० हजार बराबरको खेल सामग्री पाउनेछन् भने उपविजेताले रु ७५ हजार बराबरको क्रिकेट खेल सामग्री प्राप्त गर्नेछन्।
प्रतियोगिताबाट उत्कृष्ट खेलाडी थाइल्याण्डमा आयोजना हुने एसीसी यु-१६ इस्ट्रन रिजनका लागि छनोट हुनेछन्। उद्घाटन खेलमा समूह ए मा रहेको प्रदेश ३ र गण्डकी प्रदेश भिड्नेछन्। (रासस)