काठमाडाैँ - इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत सोमबार हुने खेलमा नेपाली स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले किंग्स इलाभेन पञ्जाबको सामना गर्दैछ।
शुरुआती २ खेलमा टोलीमा नअटाएका सन्दीपले तेस्रो खेलमा कोलकत्ताविरुद्ध ४ ओभर बलिङ गर्दै २९ रन खर्चिएर १ विकेट लिएका थिए। सोही खेलमा सन्दीपकै बलमा एक खेलाडी रन आउट पनि भएका थिए। नेपाली समयअनुसार ८:१५ बजे शुरु हुने खेलमा दुवै टोली तेस्रो जीत निकाल्ने लक्ष्यसहित मैदान उत्रिँदैछन्।
यसअघि समान ३ खेल खेलेका दुवै टोलीले २ मा जीत र १ खेलमा हार व्यहोरेका छन्। दिल्ली विरुद्धका पछिल्ला पाँचमध्ये ४ खेल जितेको पञ्जाब बलियो देखिएको छ। गत सिजनका पनि दिल्ली विरुद्धका दुवै खेलमा पञ्जाबले बाजी मारेको थियो।
आफ्नो पहिलो खेलमा इकोनोमी ब्यालेन्स गरेर बलिङ गरेका नेपाली लेग स्पिनर सन्दीपले आजको खेलमा मौका पाउने सम्भावना प्रवल देखिएको छ।
अनुमानित दिल्ली क्यापिटल्सको टोली: पृथ्वी शह, शिखर धवन, श्रेयस ऐयर(कप्तान), कोलिन इन्ग्राम, ऋषभ पन्त, क्रिस मोरिस, अक्षर पटेल, राहुल तेवाटिया, सन्दीप लामिछाने, कागिसो रवाडा र अमित मिश्रा / इशान्त शर्मा।